इनरुवा/ उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ५ वर्षभित्र सुनसरीको सबै बाटोघाटो कालोपत्र हुने बताए ।

शनिबार बिहान रासससँग कुराकानी गर्दै उपप्रधानमन्त्री गच्छदारले राजनीतिक आन्दोलन सकिएकाले विकास र सुशासनका लागि अब आफूले काम गर्ने बताए ।

उनले देशमा राजनीतिक संघर्ष धेरै भएकाले अव विकास निर्माण र जनताको जनजीविकाको सुधारका लागि काम गर्ने बेला आएको छ भन्दै सुनसरीको क्षेत्र नं ३ सहित जिल्लाका सबै बाटो कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“आफू ४७ वर्ष राजनीतिमै बिताएको र २०४८ साल देखि नियमितरुपमा सुनसरीको क्षेत्र नं ३ बाट ५ कार्यकालसम्म जित्दै आएकाले फेरि पनि जित्ने र ५ वर्षभित्र सबै खोलानालामा पुल एंव सबै बाटोमा कालोपत्र गर्ने योजना रहेको छ,” सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले भने — “आफू यो क्षेत्रको माटो पानीलाई बिर्सन नसक्ने भएकाले मलाई यहाँका नागरिक र मतदाताले बिर्सन नसक्ने हुँदा आफ्नो जित सुनिश्चत रहेको छ ।”

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका किसान संघका केन्द्रीय अध्यक्ष सुरैत यादवसहित सयौँ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा शुक्रबार प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति–२ सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विषयक छलफलमा राजपा नेपालसंग आवद्ध किसान संघका केन्द्रीय अध्यक्षसहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य एसएन मेहता, माओवादी केन्द्रका कलामुदिन अन्सारी, चनरदेव पौदार, शम्भु सरदार, चन्देश्वर मण्डल, रामजी मेहता, सन्तकुमार मेहतालगायत नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।

नवप्रवेशीलाई नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सुनसरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार सीताराम मेहता, प्रदेशसभा २ ९क० का उम्मेदवार हेमकर्ण पौडेल, प्रदेशसभा २ ९ख०का उम्मेदवार राजीव कोइरालालगायतका नेता तथा कार्यकर्ताले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।