धरान/कवि विमल गुरुङ स्मृति पुस्तकालयले देशभरीबाट वर्षभरी प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

पुस्तकालयको छनौट समितिले निर्णय गर्दै ‘विमल स्मृति पुरस्कार’ बाट पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राषी नगद ५१ ह्जार रुपैया रहेको छ । पुस्तकालयको शनिबार बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुस्तकालयले प्रकाशक, लेखक तथा साहित्यकारहरुलाई आगामी चैत अन्तिम सातासम्म प्रकाशित पुस्तकहरुको तीन प्रति पुस्तकालयमा पठाउनसमेत आह्वान गरेको सचिव चेवन राईले बताए ।
पुरस्कार हरेक वर्षको बैसाख २४ गते कवि विमल गुरुङ दिवंगत भएको स्मृतिमा प्रदान गरिने अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । लेखक, साहित्यकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले र पुस्तकालयको गतिविधि बढाउने उद्देश्यले यो कार्य गरिन लागिएको हो ।
त्यस्तै, पुस्तकालयले आगामी बर्षदेखि बर्षमा एक जनालाई ‘पुर्ण–सरस्वती सम्मान’ पनि प्रदान गर्ने भएको छ । उक्त सम्मान भने कार्तिक १९ गते हुने राष्ट्रिय कविता प्रतियोगिताको दिन प्रदान गरिने निर्णय गरिएको छ । यस अघि हरेक वर्ष दुईजनालाई सम्मान गर्दै आइरहेको थियो ।
पुस्तकालयले आयस्रोत बढाउनको लागि सदस्यहरु बनाउँदै प्रत्येक सदस्यहरुबाट प्रवेश शुल्क २ सय रुपैया लिने र मासिक शुल्क एक सय रुपैया लिने निर्णय गरेको छ । पुस्तकालय सञ्चालनको लागि ५० लाखको अक्षय कोष खडा गरिएको छ ।