दमक/ झापाको दमकस्थित दमक अस्पताल जिल्लाकै एक मात्र सरकारी अस्पताल हो । यो अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउने ७० प्रकारका निःशुल्क औषधिहरू त उपलब्ध छन् तर स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध हुने १ हजार १ सय १८ प्रकारका निःशुल्क औषधि भने सर्वसाधारणले अस्पतालकै फार्मेसीमा खरिद गर्न पाइरहेका छैनन् । अस्पतालले एक निजी फार्मेसीसँग सम्झौता गरेर स्वास्थ्य बिमा अन्तर्गत पाइने औषधिहरू उपलब्ध गराए पनि यो कार्यले बिरामीलाई असहज भएको अस्पताल स्वयम्ले अनुभूति गरेको छ ।
दमक अस्पतालले कर्मचारी, भवन तथा अन्य विभिन्न व्यवस्थापनको समस्या देखाउँदै करिब एक वर्षअघि अस्पतालकै छेउमा रहेको स्नेहा फार्मेसीसँग स्वास्थ्य बिमाअन्तर्गत पाइने निःशुल्क औषधिहरू उपलब्ध गराउन सम्झौता गर्यो । तर त्यो सम्झौता अहिले अस्पताल आफैलाई टाउको दुखाइको विषय बनेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिष शर्मा अस्पतालको आफ्नै फार्मेसी नहुँदा २४ सै घण्टा र बिदाको दिन सहजरूपमा बिरामीलाई सेवा दिन नसकिएको बताउँछन् । ‘कुनै बेला रातको समयमा बिरामी आउँछन्, बिमा गरेको पुर्जी देखाउँछन्, रोगअनुसार औषधि त लेखिदियो तर फार्मेसी बन्द हुन्छ । जसले गर्दा बिरामीलाई सयममा औषधि उपलब्ध गराउन सकिएको छैन’ –डा. शर्माले ब्लाष्टसँगको कुराकानीमा भने ।
अस्पतालको भौतिक अवस्थाको सुधार, कर्मचारी व्यवस्थापन र स्टोर गर्ने ठाउँको अभावका कारण अस्पतालले निजी फार्मेसीसँग सम्झौता गरेर स्वास्थ्य बिमाको औषधि बिरामीलाई उपलब्ध गराइरहेको छ । तर अस्पतालले चाँडै नै आन्तरिक तयारी गरी अस्पतालकै मातहतमा फार्मेसी सञ्चालन गरी बिरामीलाई आफ्नै फार्मेसीबाट स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउने तयारी गरिरहेको निमित्त सुपरिटेण्डेण्ट डा. शर्माको भनाइ छ । हरेक सरकारी अस्पतालले आफ्नै फार्मेसीबाट स्वास्थ्य बिमा अन्तर्गतको औषधि बिरामीलाई उपलब्ध गराउनुपर्छ । तर विभिन्न कारण देखाउँदै पाँच वर्षका लागि निजी फार्मेसीसँग अस्पतालले सम्झौता गरेको छ ।
तर अब यो सम्झौता निजी फार्मेसीको बक्यौता रकम करिब ६० देखि ७० लाख रुपैयाँ तिरिसकेपछि अस्पतालले आफै फार्मेसी सञ्चालन गर्ने र यो काम आगामी वैशाख १ गतेभित्र गरिसक्ने दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले बताए । ‘बिमा बोर्डले बक्यौता बराबरको रकम दिएपछि अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी त्यहीँबाट औषधि उपलब्ध गराउनेछ’ प्रमुख अर्याल भन्छन्, ‘बिमा बोर्डबाट ६० लाखको चेक आइसकेको छ । यसको रकम निकासा हुने बित्तिकै हामी फार्मेसीलाई रकम बुझाएर बिरामीलाई आफ्नै फार्मेसीबाट औषधि लिन पाउने व्यवस्थाको तयारीमा जुटेका छौं ।’