भद्रपुर । झापाको मुख्य नाका काँकडभिट्टा बजार अत्याधुनिक सहरजस्तै भएको छ । एसियाली राजमार्गको नेपाल – भारत सीमा अन्र्तगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि सो नाकाको स्वरुप नै फेरिएको हो ।
समृद्ध नेपाल सुखी नेपाली नारा सुन्ने मात्र होइन एउटा सानो समृद्धिले कति परिवर्त गर्दो रहेछ भन्ने कुरा काँकडभिट्टा स्थित मेची पुल र एसियन हाइ वेको एप्रोच सडक यसको उदाहरण बनेको छ ।
सामान्यतया नेपाल सरकारबाट निर्माण शुरु भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको भेटिदैन तर, ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेनको क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकडभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । सो सडकको अवलोकन गर्न मानिसहरु पुग्न थालेका छन् । सहज वातावरण पश्चात सो पुल चल्दा व्यापारिक कारोबारमा निकै परिवर्तनसँगै पूर्वी नेपालको समृद्धिमा एउटा इटा थप्ने निश्चित भएको स्थानीय नेत्र कार्की बताउँछन् ।
पुल र सडकको सम्बन्ध जोडिएयता नेपाल भारत प्रवेशद्वार काँकडभिट्टा पुग्दा नौलो ठाउँको अनुभूति हुन थालेको उनले बताए । साँझको समयमा बाटो वरिपरि राखिएका बत्तीले मनोरम दृष्य देखिने स्थानीयको भनाइ छ । नयाँ पुलसँगै काँकडभिट्टा क्षेत्रको संरचनात्मक काँचुली फेरिएको छ ।
सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकडभिट्टा पानीट्याङकी सडकलाई नयाँ पुलले काँचुली फेरिदिएको छ ।
५ सय मिटर पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनाइएका फराकिलो र चिटिक्क परेको सडक सवैको आकर्षणको केन्द्र बनेको छ ।
२०७४ सालबाट औपचारिक रुपमा काम शुरु भएको पुलको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।
२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको लागि सम्झौता गरेपछि निर्माण शुरु भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको हो ।
एशियाली विकास बैङ्कको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैँया लागतमा निर्माण भएको ६ लेन चौडाइ क्षमताको ६ सय ७५ मिटर लामो पुल रहेको छ । भारतको दिनेश चन्द्र आर अग्रवाल कन्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । पुलमाथिको काम लगभग सकिए पनि एसिन हाइवे अन्र्तगत करिब एक किलोमिटर एप्रोच सडक निर्माणको कार्य अन्तिम चरण पुगेको सडक डिभिजन कार्यालय दमकका इन्जीनीयर अनुप साउदिनले बताए ।
यस बीचमा निर्माण पक्षले पुलदेखि काँकडभिट्टा बसपार्क क्षेत्रसम्म चार लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न गरेको उनले जानकारी दिए । भारतीयले ठेक्का लिएकोहुदाँ सवै कुरा जानकारीमा नआएपनि नेपाल तर्फको सडकमा कार्यालयले सहजीकरण गरेको उनले जनाए । पुलले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो सहयोग पुग्ने झापाका उद्योगी व्यावसायीहरूको अपेक्षा छ ।
यसअघि काँकडभिट्टा र भारतको पानीटयाङकी जोड्ने दुइ लेनको पुल जीर्ण भएसँगै आवत जावतमा घण्टौ समय लाग्ने गरेको थियो । नयाँ पुल निर्माण भइसकेपछि यो समस्या टरेर गएको छ ।