विजयपुर / मासुको मूल्य निर्धारण गरे पनि अनुगमन अभावमा धरान बजारमा मासु व्यवसायीले मनपरी मूल्य तोकेर बिक्री गरिरहेको पाइएको छ ।

ब्लाष्टले विभिन्न स्थानमा गएर दरभाउ बुझ्दा धरान उपमहानगरले भदौ १५ गते तोकेको मूल्यभन्दा ४० रुपैयाँ बढीमा बिक्री भइरहेको पाइएको हो । धरान उपमहानगरले मासु व्यवसायीसँग छलफल गर्दै बोइलर खुकुराको मासुको मूल्य ३ सय २० रुपैयाँ कायम गरेको थियो । किसानले २ सय २० रुपैयाँमा बिक्री गर्ने सर्त राखिएको थियो । तर, बजारका केही स्थानमा मात्रै ३ सय २० रुपैयाँ रहे पनि कतिपय क्षेत्रमा मासुको मूल्य फरक–फरक बिक्री हुने गरेको भेटिएको एक उपभोक्ताले बताए ।

ब्लाष्टकर्मी स्वयम् पुगेर बुझ्दा कतिपय स्थानमा ३ सय ६० रुपैयाँदेखि ३ सय ८० रुपैयाँसम्म प्रतिकेजी बिक्री भइरहेको भेटिएको थियो । धरान–१२ चतरालाइनमा मासुको मूल्य तोकिएभन्दा ४० देखि ६० रुपैयाँ बढीमा बिक्री भइरहेको एक उपभोक्ताले नाम नखुलाउने सर्तमा बताए । धरान–५ माथिल्लो देउरालीमा पनि एक महिला व्यवसायीले ३ सय ५० देखि ३ सय ६० रुपैयाँसम्ममा मासु बेचेको भेटिएको छ । मासुको मूल्य घटेकाबारे जिज्ञासा राख्दा उनी भन्छिन्, ‘हामीलाई कुखुरा खरिद गर्दा नै महँगो पर्ने भएकाले धेरैमा बेच्नुपरेको हो ।’ उनले ब्लाष्टकर्मीलाई कुखुरापालकले नघटाएकाले बढी मूल्यमा बेच्नुपरेको बताइन् ।

धरान महानगरपालिकाले भदौ १५ गते मासु व्यवसायी र कुखुरा उत्पादक कृषकसँगको त्रिपक्षीय सहमति गर्दा जिउँदो बोइलर कुखुराको २ सय २० र मासुको मूल्य ३ सय २० निर्धारण गरेर कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । तर, त्यसको हप्तादिन बितिसक्दा पनि मनपरी मूल्यमा मासु बिक्री भइरहेको पाइएको हो । धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले निरन्तर अनुगमन भइरहेको दाबी गरे । उनले भने, ‘बढी मूल्यमा बेचेको पाइए साना व्यवसायीलाई एक–दुई पटक सम्झाउँछौं । ठूलालाई सिधै कारबाही गर्छौं ।’

धरान मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङले मासु व्यवसायीहरूलाई मूल्य हेरफेरको विषयमा जानकारी गराइसकेकाले बढी मूल्य नलिनु पर्ने तर्क गरे । उल्टो उनले निर्धारित मूल्यभन्दा कम बेच्ने गरेको दाबी गरे । यो निर्णय हुनुभन्दा अगाडि प्रतिकेजी ४ सय रुपैयाँमा बेच्दै आएका थिए भन्दै अहिले २ सय २० रुपैयाँमा पर्याप्त कुखुरा पाइरहेकाले ३ सय २० मा बिक्री गर्दा व्यवसायीलाई घाटा नहुने अनुगमन अधिकृत सापकोटाले बताए ।