धरान । गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा २२ वर्षीया सोनी हाङ्मा लिम्बु मृत फेला परिन् । सोनीको घर पटिका आफन्तले उनले आत्महत्या गरेको बताएका छन् तर सोनीका साथीहरु र माईती पक्षले भने आत्महत्या नभई सोनीको हत्या भएको दाबी गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

माइती पक्षले मङ्गलबार सोनी मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । तर प्रहरीले छानबिन नथालेको सोनीका काका टेकराज तिगेलाको भनाई छ ।

काका टेकराजका अनुसार सोनीको मृत्यु भएपछि पनि घरपटिबाट माईती पक्षलाई जानकारी गराइएको थिएन । सिङ्गापुरबाट आफन्तले खबर गरेपछि मात्र जानकारी पाएको उनले बताए । उनले ब्लाष्टसँग भने, ‘सुचना ढिलो पाईयो । त्यसैले यहाँ आउँदा पनि ढिलो भयो । ढोका खोलेर छोरीको शव हेर्दा ओछ्यानमा सुताइएको थियो । सबै कुरा हेर्दा आत्महत्या जस्तो लागेन ।’

उनका अनुसार घरपटिका आफन्तले ढोका खोलेर हेर्दा सोनी झुन्डिएको देखेपछि हतार हतार तल झार्दा तातै थियो तर झारिसकेपछि चिसो भएको बताएका थिए । टेकराज भन्छन्,‘झुन्डिएको ठाउँबाट झारिएको हो भने किन तुरुन्तै हस्पिटल लगिएन ? आफैं मरेको घोषणा गर्ने कि अस्पताल पुर्याउँने ? त्यहिंबाट हामीलाई शंका लाग्यो । ’

उनका अनुसार परिवारले सुरुमा डोरी काटेर झारेको बताएका थिए तर उनी झुन्डिएको भनिएको सल काटिएको थिएन । सलको बाँधिएको भाग फुकाइएको पनि थिएन । ‘हामीले नाच्दा बाँधिएको भाग १८ इन्चको गोलाई छ । तर त्यतिमा टाउको अट्दैन । झुन्डि मर्नेको आँखाबाट आँशु, र्याल सिंगान वा दिशा पिसाव निस्किन्छ भन्छन्, त्यो पनि देखिएन ।’ टेकराज भन्छन्,‘झुन्डिने मान्छेको घाँटीमा यु आकारको डाम बन्छ रे तर सोनीको घाँटीमा गोलो घेराको दाग छ ।’

सोनीको हत्या भएको आशंका लागेपछि माइती पक्षले मुचुल्कामा समेत सही गर्न मानेन । घटनाको यथार्थ छानबिन नभएसम्म शव नउठाउने माइती पक्षको अडान थियो । त्यसपछि प्रहरीले शव उठाएर लगेको थियो । काका टेकराज भन्छन्,‘हामीले जनप्रतिनिधि, स्थानीयवासी, मानवअधिकारकर्मी, पत्रकार सबैको रोहबरमा मुचुल्का गरौं अनि सही गर्छौं भनेका थियौं तर प्रहरीले त्यसो नगरेपछि हामीले सही गरेनौं । हाम्रो रोहबर बिना शव उठाईयो, यसमा हाम्रो आपत्ती छ ।’

प्रहरीको व्यवहारबाट समेत असन्तुष्ट बनेका माइती पक्षले बुधबार विहान छथरे समाजमा छलफल गरी तुरुन्तै छानबिन नथाले आन्दोलनमा उत्रिने निर्णय गरेको काका टेकराजले बताए । प्रहरीले भने घटनाको सत्य तथ्य छानबिन हुने बताएको छ । 

‘छोडपत्र गर्न परिवारबाट दबाव थियो ’
साेनीका काका टेकराज तिगेलाका अनुसार तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेकी सोनी र सिङ्गापुर प्रहरीमा कार्यरत युवराज मावो लिम्बु बीच फेसबुकमै चिनजान भएर प्रेम सम्बन्ध बसेको थियो । युवराज नेपाल आएर सोनीलाई माग्न ओख्रे पुगेका थिए । गत असार ५ गते फुलमाला गरियो ।

विवाह पछि आएर गर्ने भनेर युवराजले सोनीलाई धरान लिएर आए । घर पटिबाट विवाहको काम भएको थिएन । सोनीलाई घरमा छाडेर युवराज सिङ्गापुर फर्किए । काका टेकराज भन्छन्,‘यता घरमा साईंली आमाजुले हाम्रो छोरीलाई छाड्पत्र गर्न दबाव दिएकी रहेछिन् । केटाको दिदीहरुले पहिलादेखि नै विवाह नगर भनेका रहेछन् । केटाले आफैं मन पराएर ल्याएपछि पनि छोड्पत्रको दबाव बारम्बार दिइरहेका रहेछन् ।’
सोनीले आफन्तलाई पठाएको फेसबुक म्यासेजमा पनि ‘आज उसको दिदीले पेपर रेडि पार्दिन्छ रे । साईन गर्न लाको छ ।’ भन्ने लेखिएको छ ।

IMG-2316

सोनीले आफन्तलाई लेखेको म्यासेज

सोनी आफैंपनि कोरियाका लागि नाम निकालेर कोरिया जाने पर्खाइमा थिईन् । लकडाउनले उनको प्रक्रिया अघि बढेको थिएन । उनकी एक साथी सुलेखा श्रेष्ठले फेसबुकमा लेखेकी छिन्, ‘हामी कुरा गर्दा उसले जहिल्यै कति गर्दा गर्दा नाम निकालें, कोरिया नै जान्छु भन्थ्यो ।’

उनका धेरै साथीहरुले सोनीलाई पारिवारिक तनाव भएको र श्रीमानले पनि साथ नदिएको बताएका छन् । उनी व्युटीपार्लरको तालिम पनि लिइरहेकी थिईन् । व्युटिपार्लरका साथीहरुसँग पनि आफुलाई घरपटिबाट विवाह नगर्न दबाव आईरहेको र यसमा श्रीमानले पनि साथ नदिएको बताएकी थिईन् ।

काका टेकराजपनि छोरीलाई पछिल्लो समय युवराजले पनि साथ नदिएको बताउँछन् । उनी भन्छन्, ‘उनले छोरीसँग छुट्टिनका लागि प्रमाण जुटाउन धेरै जनासँग सोनीको पहिला अरुसँगको सम्बन्ध के थियो ? भन पैसा दिन्छु भनेको भेटियो ।’
सोनीका साथीहरुले पनि युवराजले सोनीका केटा साथीहरुसँग पहिला कोही ब्वाईफ्रेन्ड थियो कि भनेर सोध्ने गरेको बताएका छन् ।

उता सोनीका घरतर्फका आफन्तले भने उनले आत्मत्या नै गरेको बताएका छन् । आफुहरुलाई माइती पक्षले लगाएको आरोप गलत भएको उनीको भनाई छ । सोनीका देवर आदित्य लिम्बुले फेसबुकमा सोनीको मृत फोटो शेयर गर्दै शवमा सुरुमा दाग नदेखिएको तर लामो समय राख्दा दाग देखिएको उल्लेख गरेका छन् । उनले आमा समानको भाउजुको माया लाग्ने भन्दै यस्तो आरोप नलगाउन आग्रह गरेका छन् ।

aaditya

सोनीका देवर आदित्य लिम्बुले फेसबुकमा राखेको फोटो र स्टाटस

सोनीको मृत्यु पछि उनको फेसबुकबाट प्रोफाइल फोटोसहित परिवारसँग भएका फोटाहरु र उनले लेखेका विभिन्न स्टाटस हटाइएको भन्दै आफन्त र उनका साथीहरुले त्यस विषयमा पनि छानबिन गर्न माग गरेका छन् ।