विराटनगर। प्रदेश १ को राजधानी रहेको सहर विराटनगरको दक्षिण क्षेत्रको केही होटलमा लागूऔषधको कारोबार हुने गरेको पाइएको छ ।

प्रहरीले बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल सञ्चालक जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषधसहित पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

पक्राउ परेका साहले होटलमा लागूऔषध ल्याएर कारोबार गर्ने गरेको पाइएको छ । अवैध लागूऔषको कारोबार भइरहेको अवस्थामा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले साहलाई शुक्रबार दिउँसो ११ बजे पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

साहको होटल सीमा नजिक पर्दछ । खुल्ला सीमाको फाइदा उठाउँदै उनले भारतदेखि अवैध लागूऔषध मगाउने र कारोबारी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँचको क्रममा होटलबाट लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पाम प्रोभोक्सन २४ चक्की, र गाँजा २४० ग्राम बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

केही दिन अगाडी पनि इलाका प्रहरी कार्यालय बेलबारीले होटल सञ्चालकसहित गाँजाको कारोबारी गर्नेलाई पक्राउ गरेको थियो  । उल्लेखित दुई घटनाले होटलहरुमा लागूऔषधको कारोबारी हुने गरेको पुष्टि गर्दछ ।

इप्रका बेलबारीले मोरङ केराबारी गाउँपालिका ७ डागीस्थितबाट शुक्रबार ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् ।

प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।