धरान/धरान जेसीजले ‘जेसीज युवा वर्ष सम्मान’बाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहलाई सम्मानित गरेको छ ।
‘जेसीज विक’ कार्यक्रमको समापनको अवसरमा शनिबार मुटुरोग विशेषज्ञ साहलाई सम्मान पत्रले सम्मानित गरिएको हो । कार्यक्रममा धरान उपमहानगरका प्रमुख तिलक राई र धरान जेसीज वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले सम्मान पत्र हस्तान्तरण गरे । सम्मान पछि डा. साहले भने, ‘सुरु सुरुमा मलाई धरानमा जागिर खान आएजस्तो हुन्थ्यो, तर अहिले मलाई धरानेहरूको मायाले गर्दा जागिर खाएको जस्तो नभई आफ्नै ठाउँमा काम गरिरहेको आभाष हुने गरेको छ ।’
उनले धरानवासी आफ्नै मित्र, परिवारजस्तो लाग्न थालेको बताए । बीपी प्रतिष्ठानमा हुने गरेको बेथिति र अनियमितताबारे सुधार गर्न सबै धराने एकजुट हुन आवश्यक रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तिलक राईले जेसीजको कार्यशैलीले आफूलाई लोभ्याउने गरेकाले जेसीजसँग सहकार्य गरेर अगाडि बढ्न आफूलाई मन भएको बताए । उनले कोरोनाका कारण पनि बीचमा सहकार्य हुन नसकेकाले अब चाहिँ सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।
उनले जेसीजमा रहेका अग्रजहरूको ज्ञान, अनुभव र सीपलाई प्रयोग गर्दै धरान नगरको समृद्धिका लागि पाइला चाल्न आफू तयार रहेको बताए । कार्यक्रममा सहभागी अधिकांशले मास्क प्रयोग नगरेको पाइएपछि उनले अझै कोरोना समाप्त भइनसकेकाले सबैलाई मास्क प्रयोग गर्न आग्रह गरे । ‘यो कुरा डा. सापहरूले भनेको भए सुनमा सुगन्ध हुन्थ्यो होला,’ उनले हस्यौली पारामा भने, ‘मैलेभन्दा भोट पो घट्ने हो कि !’ कार्यक्रमका अध्यक्ष मणिराज अधिकारीले आफू १५–१६ वर्षदेखि जेसीजमा रहेका र आफ्नो उद्देश्य नेतृत्व विकासमै ध्यान रहेको बताए । उनले आफू अहिले अध्यक्षको रूपमा रहिरहँदा समृद्ध नेतृत्वको नारा लिएको बताए । उनले यसै वर्षदेखि जेसीज युवा वर्ष सम्मान राख्न पाउँदा खुसी लागेको बताउँदै आउँदो वर्षहरूमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
जेसीज युवा वर्ष सम्मानका लागि विभिन्न पाँचवटा क्षेत्रहरूलाई प्राथमिकतामा राखेर छनोट गरिएको छनोट समितिका संयोजक विष्णु बरालले बताए । त्यसका लागि विभिन्न क्षेत्रका २० युवाहरूलाई छनोट गरी समितिमा अध्ययनपश्चात् डा. साहलाई सम्मानका लागि छनोट गरिएको बताए । साप्ताहिक कार्यक्रमकी संयोजक खेमकला लिम्बूले भिडियोसहितको प्रतिवेदन प्रस्तुत गरिन् । जेसीज विकअन्तर्गत असोज १७ गते उद्घाटनसँगै साइकल यात्रा गरिएको थियो । त्यसपश्चात् मैत्रीपूर्ण फुटसल, शैक्षिक सामग्री वितरण, सामुदायिक स्वास्थ्य कार्यक्रम, उद्घोषणकला तालिम र भजेन्द्र वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । यी कार्यक्रमका लागि छुट्टाछुट्टै संयोजकहरूले पनि प्रतिवेदन बनाई प्रमुख संयोजक लिम्बूलाई हस्तान्तरण गरिएको थियो । जेसीजले युवाहरूको नेतृत्व विकासका लागि काम गर्दै आएको छ ।