धरान । धरान–१५ का ६४ वर्षीय वृद्धले सुनसरी र उदयपुरलाई जोड्ने कोशी पुलबाट हामफालेर आइतबार बेपत्ता बनेका छन् ।
६४ वर्षीय गजेन्द्र राईले कोशी पुलबाट हाम फालेर बेपत्ता बनेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र स्थानीय प्रहरी चौकीले हामफालेका राईको खोजी जारी राखेको छ । साँझ ६ बजेसम्म डुङ्गामार्फत खोजी गरिए पनि फेला नपरेको उनले जानकारी दिए । उक्त सूचना प्रहरीले सुनसरी र सप्तरी प्रहरीलाई पनि हुलियासहित जानकारी गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्दाजी १२ बजेतिर कोशीको पुलबाट हामफालेको प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता बनेका वृद्ध लामो समयदेखि मानसिक रोगी रहेको र औषधि सेवन गर्दै आएको परिवारिक स्रोतबाट जानकारी आएको छ । बेपत्ता बनेका राई टेम्पो चढेर कोशीको पुल पुगेका थिए । कोशी पुलमा पुग्ने बित्तिकै उनी हामफाल्न खोजेको देखेपछि ‘रेस्क्यू’ को प्रयास गरिएको थियो । प्रहरीलाई घटना भएको करिब आधा घण्टापछि मात्रै जानकारी पुगेको थियो । प्रहरीले यो समाचार तयार पार्दासम्म पनि शव फेला पार्न सकेको छैन ।