पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले शुक्रबार तोडफोड गरेको छ ।
नेवि संघ पथरी क्याम्पस इकाई समितिले आज ९शनिबार० वनभोज कार्यक्रमको आयोजना गरेको छ । वनभोज कार्यक्रमको लागि क्याम्पसमा रकम माग गरेका थिए । तत्काल रकम नदिएकोमा नेवि संघ इकाई कार्यसमितिका कार्यवाहक अध्यक्ष विदुर बस्नेत लगायतको टोलीले अमर्यादित व्यवहारसहित तोडफोड गरेको पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । टोलीमा पूर्व स्ववियु सभापति गोपाल साम्बा, सदस्य केशर राई लगायतका विद्यार्थी रहेका थिए ।
क्याम्पस प्रमुख चेतन पौडेल, उपप्रमुख शान्तिराम तिम्सिना लगायतको उपस्थितिमा जाडो बिदा दिने कि नदिने लगायतको विषयमा पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिको बैठक बसिरहेको थियो । संघमा आबद्ध विद्यार्थीहरूले बैठक बसिरहेको कार्यालय बाहिर नारा जुलुस तथा तोडफोड गरेका थिए ।
नेवि संघका कार्यकर्ताहरूले बैठक बसिरहेको कोठाको बाहिरबाट चुकुल लगाएको र केही बेर पछि आफै ढोका फोरेर बैठकमा प्रवेश गरी नारा जुलुस गरेको संघले जनाएको छ ।
सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी समेत रहेका नेवि संघका कार्यकर्ताहरूले क्याम्पस प्रशासन—मुर्दावाद, क्याम्पस प्रमुख—राजिनामा दे, शिक्षक कर्मचारीलाई—कालो मोसो दल्छौ लगायतका अमर्यादित नारा लगाएको प्राध्यापक संघको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरूको अमर्यादित व्यवहारले असुरक्षा पैदा भएको भन्दै पठनपाठन गर्न नसक्ने संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले यो वर्षको जाडो बिदा दिने, नदिने कोर्स सकिने, नसकिने विचार गरेर क्याम्पसले नै निर्णय गर्ने निर्देशन दिएको छ । पथरी क्याम्पस बिदा, दिने नदिने र नेवि संघको मागहरूको बारेमा प्राध्यापक संघको बैठक बसिरहेको बेला विद्यार्थीहरूले अराजकता प्रदर्शन गरेको संघले जनाएको छ ।
पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समिति पथरी बहुमुखी क्याम्पसका अध्यक्ष उमेशकुमार खड्का र सचिव सूर्यबहादुर कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो परिस्थितिमा पठनपाठन गर्न नसक्ने उल्लेख छ । यता नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले भने पर्याप्त खेलकुद सामाग्री र खेलमैदानको व्यवस्थापन, शौचालय सरसफाइ हुनुपर्ने, टाढाको विद्यार्थीलाई यातायातको व्यवस्थापन हुनुपर्ने लगायतको माग राखेर पुस ८ गतेदेखि ७ दिनको अल्टिमेटम दिएको थियो ।
माग पुरा नभए जस्तोसुकै मूल्य चुकाउने चुनौती दिएको थियो । यद्यपि विद्यार्थीहरूले संगठनको माग भन्दा पनि शनिबार आयोजना हुने वनभोजको लागि पैसा नदिएकैमा शुक्रबार तोडफोड तथा बिन अनुमति बैठकमा प्रवेश गरेर अमर्यादित व्यवहार गरेको संघले जनाएको छ ।
प्राध्यापक संघको विज्ञप्तिपछि आइतबारदेखि क्याम्पस लाग्ने कि बन्द रहने अन्यौलता सिर्जना भएको छ । बिहान भएको तोडफोडबाट क्याम्पसको ढोका फुटेको छ ।