विजयपुर । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा शिक्षण गर्नेहरूको काम एउटै भए पनि पारिश्रमिक फरक–फरक छ ।

विश्वविद्यालयमा शिक्षण गर्ने स्थायी, करार र आंशिक प्राध्यापकहरू छन् । उनीहरूले काम एउटै गर्छन् तर, पारिश्रमिक फरक–फरक पाउँछन् । आंशिक प्राध्यापकले एउटा कक्षाबापत ४ सय ८० रुपैयाँ पाउँछन् । उक्त रकमको पनि राजस्व १५ प्रतिशत कटाएर ४ सय ८ रुपैयाँ हात पर्छ ।

यसलाई आंशिक प्राध्यापक अनिस आचार्यले अत्यधिक श्रम–शोषणका रूपमा बुझेका छन् । सँगै शिक्षण गर्ने स्थायी तथा करार प्राध्यापकहरूले भने मासिक ४२ हजार हाराहारी पाउँछन् । औषतमा एउटा कक्षाको ७ सय रुपैयाँ हुन आउँछ । यसमा १ प्रतिशतमात्र कर काटिन्छ ।

यही असमान ज्यालाका कारण हाल विभिन्न माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले त्रिभुवन विश्वविद्यालयमा बौद्धिक श्रमशोषण अन्त्य गर्न माग गर्दै आन्दोलन गर्न थालेका हुन् । आंशिक प्राध्यापकहरूले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका क्याम्पस प्रमुखको कार्यकक्षसहित विभिन्न शाखा, उपशाखामा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक सङ्घर्ष इकाई समितिले क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूको कार्यकक्षमा तालाबन्दी गरेको हो । समितिले समान कामको समान ज्याला प्रदान गर्न माग गर्दै तालाबन्दी गरेको हो । समितिले सहायक क्याम्पस प्रमुख बबिता अधिकारी, आर्थिक महाशाखाका आर्थिक उपनियन्त्रक सुरेश सुवेदी, कर्मचारी प्रशासन शाखाका नवीनकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

समितिले त्रिवि सेवा आयोगको परीक्षा स्थगन गरी आंशिक प्राध्यापकहरूको माग सम्बोधन गर्नुपर्ने बताएको छ । समितिका उपाध्याक्ष अनिस आचार्यले काम एउटै गरे पनि ज्याला फरक रहेको बताउँदै समान ज्याला दिनुपर्ने माग गरे । उनले असमान ज्यालाका कारण आंशिक प्राध्यापकहरू मारमा परेको बताए । उनले आफूहरू परीक्षाबाट भाग्न नखोजेको बताए । तर, विश्वविद्यालयले २२ सय आंशिक प्राध्यापकहरूलाई विस्थापन गर्न खोजेको भन्दै आंशिक प्राध्यापकका माग सम्बोधन नभएसम्म ताला नखोल्ने बताए ।

त्रिवि नेपाल आंशिक प्राध्यापक सङ्घर्ष इकाई समितिका अध्यक्ष विक्रम राईले समान कामको समान ज्याला पाउनु पर्ने भन्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म ताला नखोल्ने बताए । अध्यक्ष राईले सेवा आयोगको परीक्षाका प्रश्नपत्र पनि बाहिरिएको बताए । उनले भने, ‘प्रश्नपत्र बाहिरिएको भन्ने आएको छ । त्यसैले परीक्षा स्थगन गरी छानबिन गर्नुपर्छ ।’

उनीहरूका मागका विषयमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. राजेन्द्र शर्मा सकारात्मक छन् । उनले भने, ‘विगतको नजिरमा पनि छ र २० औँ वर्ष सेवा गरेका छन् । उनीहरूका माग जायज छन् ।’ उनले लामो समय त्रिवि आयोग नखुल्दा दरबन्दी खाली हुँदै गएपछि आंशिक रूपमा प्राध्यापक राख्ने गरेको बताए ।

काठमाडौंका कतिपय क्याम्पसमा विद्यार्थी र शिक्षकको सङ्ख्या बराबर रहेको बताउँदै उनले भने, ‘कहीँ शिक्षकले विद्यार्थी पाउँदैनन् । कहीँ विद्यार्थीले शिक्षक पाउँदैनन् ।’ काठमाडौंमा हप्तामा एक– दुईवटा पिरियडमात्रै पढाउने प्राध्यापक पनि रहेको उनले बताए । विश्वविद्यालयमा रहेको अनुगमन समिति र दरबन्दी समितिले कहाँ दरबन्दी धेरै छ, कहाँ छैन भन्ने अध्ययन गरी मिलान गर्नुपर्ने बताए । उनले प्राध्यापकहरू अस्थायी, करार र आंशिक हुनु राष्ट्रकै बेइज्जत भएको प्रतिक्रिया दिए ।

समितिका अनुसार नेपालभर करिब २२ सय आंशिक प्राध्यापक रहेका छन् । हात्तीसार क्याम्पस धरानमा १४ जना आंशिक प्राध्यापक रहेका छन् । १४ जनालाई क्याम्पसले स्वायत्तताका आधारमा करार गर्न समितिले माग गरेको छ ।