धरान । प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज (पीभीएचआइएम) ले एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट स्टकिस क्वालिफिकेसन अथरिटीबाट मान्यता प्राप्त रहेको जनाएको छ ।

स्टकिस क्वालिफिकेसन अथरिटी स्कटल्यान्ड सरकारबाट मान्यता प्राप्त छ । जसले विश्वका ४० भन्दा बढी देशमा अध्यापन भइरहेको डिप्लोमा इन होटल म्यानेजमेन्टको प्रमाण पत्र प्रदान गर्दै आएको छ ।

पीभीएचआइएमका निर्देशक अनिल श्रेष्ठले भने, ‘स्टकिस क्वालिफिकेसन अथरिटी यस्तो संस्था हो । जसले स्तर वृद्धिको प्रमाण–पत्र प्रदान गर्दछ र विश्वका जुनसुकै मुलुकमा पनि उत्पादित जनशक्ति कामका लागि र पढ्नका लागि जान सक्छन् ।’

डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्यापन गरेका विद्यार्थीहरूले सिधै विश्वका जुनसुकै विश्वविद्यालयको होटल म्यानेजमेन्ट विषयको सिधै स्नातक तहको दोस्रो वर्षदेखि अध्यापन गर्न पाउने सुविधा रहेको उनले जानकारी दिए ।

एलसीसीआई ग्लोबल क्वालिफिकेसनले नेपालमै विकास भएको पाठ्यक्रमलाई विश्वमा परिचित गराउने तयारीमा रहेको छ । यस विषय अध्यापन गर्नेलाई १५ महिना व्यावहारिक र सैद्धान्तिक ज्ञान साथै ६ महिना होटलहरूमै ज्ञान सेयरिङ गर्न पाउने व्यवस्था रहेको छ । त्यसपश्चात् परीक्षा लिने प्रणाली विकास गरिएको छ ।

स्वच्छ, स्वस्थ वातावरणमा होटलका अभ्याससहित सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ । धरानमा प्राइम भिजनले पहिलो पटक यो विषयलाई लञ्च गरेको हो । सन् २०१८ देखि प्राइम भिजनले यो विषय अध्यापन गराउँदै आएको छ । दक्ष जनशक्ति र बिकाउ जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुरूप यो विषय पढाइ गरिरहेको हो ।