धरान । पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक बिल तामाङको स्मृतिमा हङ्कङमा सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सहारा क्लब हङ्कङको आयोजनामा असोज १५ मा सम्पन्न प्रतियोगितामा जोर्डन फुटबल क्लबले उपाधि जितेको छ । सहभागी १४ टिममध्ये विजेता बन्न सफल जोर्डनले हङ्कङ डलर १५ हजारसहित कप जित्यो । त्यस्तै एस्स फुटबल क्लबले उपविजेता बन्दै ८ हजार हङ्कङ डलर जित्यो ।

प्रतियोगिताकी प्रमुख अतिथि बिल तामाङकी श्रीमती सुनिता मोक्तानले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरिन् । क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङलगायतको उपस्थिति रहेको कार्यक्रममा सह–संयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए । क्लबका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद संयोजक खेम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबको गतिविधिबारे प्रष्ट पारेका थिए ।

कार्यक्रम सञ्चालन महासचिव कुमार गुरुङले गरेका थिए । मुख्य प्रायोजक एलजी सङ्गमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे । क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण नेपालमा निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो ।