धनकुटा । पूर्व शान्तिमन्त्री रहिसकेका रकम चेम्जोङले धनकुटाको प्रदेश (क) बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनी जसपाका नेता हुन् । धनकुटामा प्रतिनिधिसभा सदस्यतर्फ ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । सङ्घमा गठबन्धनबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका सुनिलकुमार थापा, एमालेबाट राजेन्द्रकुमार राई, माओवादी परित्याग गरेका हेमराज भण्डारीले पनि प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । भण्डारीले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै गङ्गाराम गोम्देनले पनि स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् । उनी पनि माओवादीका पूर्व नेता हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट अमुल राई, एकीकृत शक्ति नेपालबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमारबहादुर थापा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विश्वमित्र लावती, स्वतन्त्र उम्मेदवारको रूपमा सुन्दरबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट (क) मा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई र प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य रहेकी कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दिइन् । एमालेका तर्फबाट प्रदेशसभा (क) मा निरनकुमार राई र (ख) मा इन्द्रमणि पराजुलीले मनोनयन दर्ता गराएका छन् ।
जसपाले प्रदेश (ख) मा डम्बर कटुवाललाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालबाट सोमबहादुर घिसिङ तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विष्णुविक्रम राई, राप्रपाबाट श्यामकुमार गुरुङ, स्वतन्त्रबाट जितेन्द्र माङ्पाङ राई, बालावन्द दाहालले मनोनयन दर्ता गराएका छन् ।