इनरुवा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सुनसरी ३ मा पुनः राजनीतिक खेलाडी विजयकुमार गच्छदार र भगवती चौधरीबीच भिडन्त हुने भएको छ ।

सत्तारुढ गठबन्धनअन्तर्गत नेपाली काङ्ग्रेसबाट गच्छदार र नेकपा (एमाले)बाट चौधरीको भिडन्त हुने भएको हो । उनीहरूले आइतबार सुनसरी ३ को प्रतिनिधिसभाबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन । नेपाली काङ्ग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेदवारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिस्पर्धामा रहेका छन् । कुसियतले प्रदेशसभातर्फका उम्मेदवार पर्शुराम बस्नेत र अब्बास अन्सारीका साथमा मनोनयन दर्ता गराएका हुन् ।

काङ्ग्रेसबाट ४ को प्रदेशतर्फ सदानन्द मण्डल र इसराईल मन्सुरीले मनोनयन दर्ता गराएका छन् । यसैबीच नेकपा (एमाले)का नेता भीम आचार्यले सुनसरी २ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका छन् । आचार्य काङ्ग्रेसका सीताराम मेहताको प्रतिस्पर्धीका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।

सुनसरी २ को प्रदेश (क) तर्फ गठबन्धनबाट इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रतिस्पर्धीका रूपमा एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले मनोनयन दर्ता गराएका छन् ।  त्यसैगरी २ को प्रदेशसभा (ख) तर्फ एमालेबाट रामप्रसाद मेहता र नेपाली काङ्ग्रेसबाट राजीव कोइरालाले मनोनयन दर्ता गराएका छन् ।