तरलता अभावका कारण संकटमा परेका बैंकहरु हाल लगानी गर्न नसक्दा बढ्दो लागत बेहोर्न बाध्य भएका छन् । तरलता अभावका कारण दुई महिना अघिसम्म समस्या भोगेका बैंकहरुले तरलता वृद्धि हुँदा घट्दो आम्दानी बेहोरिरहनु परेको छ ।
तरलता बढी भएर राष्ट्र बैंकले रिभर्स रिपो गरिरहनु परेको छ । ट्रेजरी बिलको ब्याज दर पनि वर्षकै न्यून बिन्दुमा आइसकेको छ । बढी भएको तरलता प्रयोग गर्ने मौद्रिक औजारहरुको ब्याज घट्दा बैंकहरुको आम्दानी साँघुरिएको छ ।
बैंकहरुमा तरलता बढे पनि ऋण लगानी भएको छैन । बढेको निक्षेपमा ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज तिरिरहनु परेको छ । तर आम्दानीको प्रमुख स्रोत ऋण लगानी भएको छैन ।
बैंकहरु सीडी रेसियोका हिसाबले सहज अवस्थामा पुगेको निक्कै भइसक्यो । तर, ट्रेजरी बिलको ब्याज दरमाथि भएकाले लगानीका लागि खासै समस्या थिएन । अहिले ट्रेजरीको ब्याज दर १२ प्रतिशतबाट घटेर ७ प्रतिशतभन्दा तल आइसकेको छ ।
लागत वृद्धिले पुँजी कोष कम भएका बैंकलाई समस्यामा पारेको छ । ऋणको माग नै आयो भने पनि उनीहरु ऋण दिन सक्दैनन् । ऋण दिँदा पुँजी कोष अनुपात नियामकीय प्रावधान ८ दशमलव ५ प्रतिशतभन्दा तल आउँछ ।
एकातिर निक्षेप बढ्ने र अर्कोतिर ऋण पनि दिन नसक्ने हुँदा उनीहरु थप मर्कामा परेका हुन् । अहिले २१ मध्ये १० वटा बैंकलाई पुँजी कोषको समस्या परिसकेको छ ।
‘९० प्रतिशतसम्म कायम गर्न सकिने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मेरो बैंकको ८० प्रतिशतमा आइसकेको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, ‘निक्षेप बढिरहेको छ । ऋण जान सकेको छैन । अर्कोतिर ट्रेजरी बिलको ब्याज पनि कम भइसकेको छ । सबै हिसाबले अहिले बैंकको लागत बढेर आम्दानी घटिरहेको छ ।’
बैंकहरुले ऋण दिन नसके पनि निक्षेपलाई निरुत्साहन भने गरेका छैनन् । तीन महिनायता निक्षेपको ब्याज दर घटेको छैन । बैंकर्स संघमार्फत भद्र सहमतिका नाममा भइरहेको कार्टेलिङका कारण पनि ब्याज दर स्थिर छ ।
यसपटक साउन, भदौ र असोजसम्मै ऋणको माग नआउने विश्लेषण छ । घरजग्गा र सेयर बजार घटेको, उद्योगमा चहल पहल नभएको, समष्टीगत मागमा सुधार नभएका हिसाबले मुख्य सिजनमा पनि ऋणको माग नहुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे बताउँछन् ।
‘बढेको तरलता, घटेको रिभर्स रिपो र ट्रेजरी बिलको ब्याज, ऋणको माग नहुनुजस्ता कारणले निक्षेपको ब्याज घटाउनु पर्ने दबाब त छ,’ प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने, ‘तर नेपालको बजार निक्षेपको ब्याज दरमा निकै संवेदनशील छ । कुनै बैंकले अलिकति ब्याज माथि राख्यो भने संस्थागत निक्षेप उतै जाने हुन्छ । यसले गर्दा घटाइहाल्न पनि मुस्किल छ ।’