विजयपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी खर्च कटौती गर्ने उद्देश्यले सरकारी कार्यक्रम होटलमा नगर्न निर्देशन जारी गरेको छ ।

मंगलबार मन्त्रालयले जारी गरेको परिपत्रमा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत हुने बैठक, गोष्ठी, तालिम र सेमिनारजस्ता गतिविधि अब होटल तथा रिसोर्टमा नगरी आफ्नै कार्यालय परिसर वा सरकारी सभाहल तथा तालिम केन्द्रमै सञ्चालन गर्न निर्देशन गरेको हो ।

निर्देशनमा सरकारी खर्चलाई मितव्ययी, पारदर्शी र उपलब्धिमूलक बनाउन यस्तो निर्णय गरिएको उल्लेख छ । साथै, सबै मन्त्रालय, आयोग, विभाग, प्रतिष्ठान, समिति तथा जिल्ला समन्वय समितिका कार्यालयलाई उक्त व्यवस्था कार्यान्वयन गर्न भनिएको छ । मन्त्रालयले अनावश्यक खर्च घटाउने, सरकारी स्रोतको सदुपयोग बढाउने र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।