विजयपुर । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्रे गरिएको छ ।


सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा कालोपत्रे गरिएको छ । कतिपय सडक कालोपत्रे सम्पन्न भएका छन् भने कतिपय सडकहरू कालोपत्रे सुरु गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।


चालु आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न पाँचवटा बहुवर्षे सडक कालोपत्रे सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकासँगको ५०/५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड र प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०/५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड कालोपत्रे सुरु भएको छ ।


सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत चुलाचुली वडा नं १ देखि ६ सम्म (सबै वडा) जोड्ने चुलाचुली मार्गको १ नं वडा खण्ड कालोपत्रे धमाधम भइरहेको छ । शिववरक मन्ट्रक्सन प्रालि झापाले एक करोड आठ लाखमा ७७६ मिटर कालोपत्रे गर्नेगरी सम्झौता भएको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लाराज खड्काले जानकारी दिए । त्यस्तै, सो मार्गको वडा नं ५ खण्डको एक हजार १०० मिटर खण्डसमेत कालोपत्रे भइरहेको छ । मधुमल्ला निर्माण सेवा मोरङले रु ९० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको छ ।


प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०/५० प्रतिशत लागत साझेदारीमा चुलाचुली–२ को हिमाली मार्ग (स्वामीचोक दक्षिण) कालोपत्रे सुरु भएको छ । स्वामीचोकदेखि झापाको कमल गाउँपालिकास्थित केर्खा बजार जोड्ने सो सडक ग्यालेक्सी कन्ट्रक्सन झापाले रु ८२ लाख २४ हजारमा ठेक्का सम्झौता गरी कालोपत्रे सुरु गरेको छ । यस वर्ष ९७० मिटर कालोपत्रे हुनेछ । सो सडक खण्डको दुई किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ ।


सोही कार्यक्रमअन्तर्गत चुलाचुली–४ को माङहिम मार्ग कालोपत्रे सुरु भएको छ । झापाको कमल गाउँपालिका र चुलाचुली गाउँपालिकाको सीमा क्षेत्र माङहिम मार्ग प्रवेशद्वारदेखि मदन भण्डारी राजमार्ग जोड्ने सो सडक यस वर्ष एक हजार १७५ मिटर कालोपत्रे हुने खड्काले जानकारी दिए । स्टार चुलाचुली कन्ट्रक्सन झापाले रु एक करोड दुई लाखमा ठेक्का सम्झौता गरेर काम भइरहेको छ । सो सडक खण्डको तीन किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ ।


त्यस्तै, गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत एक सडक कालोपत्रे सुरु गरिएको इन्जिनियर (सातौँ) विकल खनालले जानकारी दिए । चुलाचुली–५ स्थित मदन भण्डारी मार्गदेखि गुम्बा जोड्ने सडक कालोपत्रे सुरु गरिएको छ । यस वर्ष रु ९२ लाख ७१ हजार ४९३ को लागतमा एक हजार २०५ मिटर कालोपत्रे हुनेछ ।


यस्तै, गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत पाँचवटा सडक खण्ड निर्माण र स्तरोन्नतिको काम सुरु भएको छ । चुलाचुली–१ स्थित कृषि मार्गको एक हजार २४० मिटर खण्ड रु एक करोड नौ लाख ५७ हजार ९६२ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–२ स्थित छथरे टोल र अर्नाखाडी सडकखण्डको एक हजार १४० मिटर खण्ड रु ९३ लाख चार हजार ३५१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ ।


त्यसैगरी, चुलाचुली–३ स्थित पिटिओ टोल र महमाई सडकखण्डको ७२० मिटर खण्ड रु ९६ लाख ४४ हजार ५८५ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–४ स्थित छिमेकी टोल र त्रिवेणी आइतबारे (पश्चिम) सडकखण्डको ९६० मिटर खण्ड रु ९० लाख ४५ हजार ९९१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ ।


त्यस्तै, तुलसी मार्ग–किरात चोक मार्ग–शान्ति चोक मार्ग (उत्तर) सडकखण्डको एक हजार ४२० मिटर खण्ड निर्माण र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिएको छ । सो सडकखण्डका लागि रु एक करोड ३४ हजार ८१ को लागत अनुमान गरिएको छ ।


चुलाचुली गाउँपालिकाका सबै टोलमा कालोपत्रे सडकको पहुँच पु¥याउन सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको छ । चुलाचुली गाउँपालिकाले यसअघि नै छवटै वडा कार्यालय जोड्ने चुलाचुली मार्गको प्रत्येक वडा खण्ड कालोपत्रे गरेको थियो । पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माणाधीन मदन भण्डारी मार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्रे गर्ने प्राथमिकता दिएको छ ।


“टोलटोलमा विस्तार भएका कतिपय सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको छ भने कतिपय गाउँपालिकाले आफ्नै बजेट विनियोजन गरेर कालोपत्रे गरेको छ”, अध्यक्ष केरुङले भने, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत कालोपत्रेलाई प्राथमिकता दिनेछौँ ।” रासस