नेपालले मलेरिया नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। पछिल्लो दशकमा स्थानीय सङ्क्रमण करिब ९० प्रतिशतले घट्नु स्वास्थ्य प्रणालीको सुदृढता, जनचेतना र सरकारी प्रयासको सकारात्मक परिणाम मान्न सकिन्छ । तर यही उपलब्धिका बीच एउटा गम्भीर चुनौती सतहमा आएको छ । आयातित औलो सङ्क्रमणकोे तीव्र वृद्धि दरले भने समस्या निम्ताइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाए अनुसार हाल नेपालमा देखिएका करिब ९७ प्रतिशत औलोका केस विदेशबाट आयातित छन् । विशेषगरी भारतका उच्च जोखिम क्षेत्र र अफ्रिकी मुलुकबाट फर्किने नेपालीहरु यसका मुख्य स्रोत बनेका छन् । यो तथ्यले स्पष्ट सङ्केत गर्छ कि अब औलो नियन्त्रण केवल आन्तरिक प्रयासले मात्र सम्भव छैन, यसका लागि सीमा व्यवस्थापन र अन्तरदेशीय समन्वय अनिवार्य भइसकेको छ ।
औलो एक सामान्य ज्वरो मात्र होइन; यो एनोफिलिस जातको लामखुट्टेको टोकाइबाट सर्ने जटिल परजीवीजन्य रोग हो, जसले समयमै उपचार नपाए ज्यानै लिन सक्छ । विशेषगरी बालबालिका, गर्भवती महिला र कमजोर प्रतिरक्षा भएका व्यक्तिहरुका लागि यो अझ खतरनाक हुन्छ । त्यसैले लक्षण देखिनेबित्तिकै परीक्षण र उपचारको पहुँच सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो । सरकारले सन् २०२६ सम्म स्थानीय औलो शून्यमा झार्ने महत्वाकाङ्क्षी लक्ष्य राखेको छ । राष्ट्रिय औलो रणनीतिक योजना (२०२५–२०३०) यसै दिशामा केन्द्रित छ। तर लक्ष्य प्राप्तिका लागि अब रणनीतिमा केही महत्वपूर्ण सुधार आवश्यक छन् । लक्ष्यले मात्र सफलता पुग्न सकिदैंन् । लक्ष्यमा पुग्नका लागि कार्ययोजनालाई कार्यान्वयन पनि गर्नु पर्दछ ।
पहिलो, सीमा नाकाहरुमा स्वास्थ्य जाँचलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । विदेशबाट फर्किने श्रमिकहरूको नियमित स्क्रिनिङ र ट्र्याकिङ प्रणाली विकास गर्न जरूरी छ । दोस्रो, स्थानीय तहसम्म स्वास्थ्य सेवा पहुँच विस्तार गरी प्रारम्भिक परीक्षण र उपचार सहज बनाइनुपर्छ । तेस्रो, जनचेतना अभियानलाई निरन्तर र लक्षित रूपमा सञ्चालन गर्नुपर्छ, विशेषगरी उच्च जोखिम समूहमा । विश्व स्तरमा पनि औलो अझै चुनौतीकै रुपमा रहेको छ । विशेषगरी अफ्रिकी क्षेत्रमा यसको प्रभाव अत्यधिक छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय अनुभव र सहकार्यबाट सिक्दै आफ्ना प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्दछ । निष्कर्षतः, नेपाल औलो उन्मूलनको नजिक पुगेको छ, तर अन्तिम चरण सधैं सबैभन्दा कठिन हुन्छ । स्थानीय सफलता कायम राख्दै आयातित सङ्क्रमण नियन्त्रण गर्न सकिए मात्र ‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बन्न सक्छ । अबको ध्यान—सीमा कडाइ, निगरानी विस्तार र दिगो स्वास्थ्य प्रणाली निर्माणमा हुनु पर्दछ । यसरी गरे मात्र नेपाल लक्ष्यमा पुग्न सक्नेछ ।