विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा ‘रिल्याक्सेसन’ (आराम) का लागि खोलिएका स्पा र मसाज सेन्टरहरूको भित्री कथा अर्कै भेटिएको छ । 

स्पाको आवरणमा अवैध यौन धन्दा भइरहेको जनगुनासो बढेपछि प्रहरीले शनिबार चलाएको विशेष ‘स्विप अप्रेसन’ का क्रममा सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा शनिबार दिउँसो प्रहरीले एकैसाथ छापा मारेको थियो । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवम् इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार शङ्कास्पद अवस्थामा भेटिएका ३६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ पर्नेमा दुईजना सञ्चालकसमेत रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर कबिन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१४ स्थित ‘किपु स्पा’ मा छापा मार्दा कानूनी मापदण्ड उल्लङ्घन भएको फेला पारेको थियो । प्रहरीले उक्त स्पाका सञ्चालकद्वय सुनसरी बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्लाका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ । सोही स्पामा काम गर्ने अन्य तीन जना महिलालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सीमावर्ती क्षेत्रमा रहेका यी स्पा केन्द्रहरूले भारतीय नागरिकलाई मुख्य लक्षित गरेको देखाएको छ । “विशेषगरी विराटनगरको दक्षिणी क्षेत्रमा रहेका स्पामा भारतीय नागरिकहरू आउने र स्पाको आवरणमा अनैतिक क्रियाकलाप गर्ने गरेको पाइयो” मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, “सञ्चालकले सुरुमा निश्चित शुल्क तोक्ने र भित्र छिरेपछि आपसी सहमतिमा अवैध गतिविधि हुने गरेको गुनासो थियो । छापा मार्दा कतिपय ठाउँमा त्यस्तै अवस्था भेटिएको छ ।”

पछिल्लो समय विराटनगरका मुख्य बजार र सीमावर्ती गल्लीहरूमा ‘स्पा’ र ‘मसाज सेन्टर’ हरू च्याउ झैं उम्रेका छन् । स्थानीयले यी केन्द्रहरूमा हुने मापदण्ड विपरीतका गतिविधिले सामाजिक विकृति फैलाएको भन्दै लामो समयदेखि विरोध गर्दै आएका थिए । प्रहरीले नियन्त्रणमा लिइएकाहरूमाथि सोधपुछ भइरहेको र कानूनी प्रक्रिया पूरा नगर्ने तथा अनैतिक कार्यमा संलग्न हुनेहरूलाई कडा कारबाही गरिने जनाएको छ ।

प्रहरीले अवैध रूपमा सञ्चालित यस्ता केन्द्रहरूलाई निरुत्साहित गर्न आगामी दिनमा पनि निगरानी र छापा मार्ने कार्यलाई निरन्तरता दिने बताएको छ ।