नेपाली कथा साहित्यमा नयाँ स्वाद र संवेदनशील दृष्टिकोणसहित देखा परेको कृति हो ‘पेनिबा’ । कथाकार सुरेश यक्सोको यो पहिलो कथा सङ्ग्रह भए पनि यसले उनको वैचारिक परिपक्वता, अनुभवको गहिराइ र समाजप्रतिको सचेत दृष्टिलाई स्पष्टरुपमा प्रस्तुत गरेको छ । रत्न पुस्तक भण्डारबाट प्रकाशित यस सङ्ग्रहमा १५ वटा कथाहरु समावेश छन् । यस सङ्ग्रहमा मुख्यतः काठमाडौँ र हङ्कङजस्ता भिन्न भूगोल र परिवेशलाई आफ्नो कथ्यको आधार बनाएका छन् । यही द्वैध परिवेशले कथाहरुमा स्थानीय र वैश्विक अनुभवको सम्मिश्रण प्रस्तुत गरेको छ । कथा अनुसारको आवरण चित्रले झन् कथावस्तु बुझ्न सजिलो बनाएको छ ।

कथा विधा आफैमा सीमित पात्र र घटनामार्फत् जीवनका जटिल पक्षहरु उजागर गर्ने प्रभावकारी माध्यम हो । सुरेश यक्सोले यही विशेषतालाई सफलतापूर्वक उपयोग गरेका छन् । उनका कथाहरुमा अनावश्यक विस्तार छैन; बरु सघनता, सटीकता र अर्थपूर्ण प्रस्तुति पाइन्छ । कथाकारले पात्रहरुको आन्तरिक द्वन्द्व, सामाजिक दबाव, सांस्कृतिक जटिलता र मानवीय सम्बन्धका सूक्ष्म आयामहरुलाई सरल तर प्रभावकारी भाषामा उतारेका छन् । यसले पाठकलाई कथा पढ्दा केवल मनोरञ्जन मात्र होइन, गहिरो चिन्तनतर्फ पनि डो¥याउँछ ।

‘पेनिबा’ कथा सङ्ग्रहको एउटा महत्वपूर्ण विशेषता भनेको यसको विषयगत विविधता हो । ‘लेखकको आत्महत्या’ जस्तो दार्शनिक कथाले सिर्जनात्मक अस्तित्व, आत्मसङ्घर्ष र जीवनको अर्थबारे प्रश्न उठाउँछ भने ‘नयाँ जुत्ता’ जस्तो मनोवैज्ञानिक कथाले मानवीय मनोविज्ञानका सूक्ष्म पक्षहरु उजागर गर्छ । यसरी कथाकारले जीवनका विभिन्न तह—दार्शनिक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक पक्षलाई एउटै सङ्ग्रहमा समेट्न सफल भएका छन् । उनका कथाहरु पढ्दा पाठकले जीवनका यथार्थसँग प्रत्यक्ष साक्षात्कार गरेको अनुभव गर्छन् । सरल भाषा, प्रष्ट विचार उनको लेखकीय गुण बनेको छ ।

यस कथा सङ्ग्रहको शीर्षक कथा ‘पेनिबा’ विशेषरुपमा उल्लेखनीय छ । यो कथा लिम्बू समुदायको साइनो (नातासम्बन्ध) सम्बन्धी परम्परामा आधारित छ । सांस्कृतिक चेतना र पहिचानको महत्वलाई उजागर गरेको पाइन्छ ।  परम्परागत रुपमा सात पुस्तासम्म साइनो केलाउने प्रचलन भए पनि व्यवहारमा चार पुस्ताभित्रै नातासम्बन्ध दोहोरिने सम्भावनालाई कथाले उठाएको छ । यसले केवल एउटा सांस्कृतिक अभ्यास मात्र प्रस्तुत गर्दैन, बरु आधुनिक समाजमा परम्परा र व्यवहारबीचको द्वन्द्वलाई पनि देखाउँछ । आफ्नो संस्कार र संस्कृति नबुझ्दा मानिस ‘होस हराएको’ जस्तो हुने विचार यस कथाको मूल सन्देशका रुपमा देखिन्छ ।

सुरेश यक्सोका कथाहरुमा परदेशी जीवनको अनुभूति पनि महत्वपूर्ण रुपमा प्रस्तुत भएको छ । हङ्कङजस्तो परदेशी भूमिमा बसेर लेखिएका कथाहरुमा नोस्टाल्जिया, एक्लोपन, पहिचानको खोजी र घरप्रतिको तिर्सना स्पष्ट देखिन्छ । तर उनका कथाहरु केवल भावनात्मक स्मृतिमा सीमित छैनन् । ती कथाहरुले परदेशी जीवनका यथार्थ, सङ्घर्ष र सम्बन्धका जटिलतालाई पनि उजागर गरेको पाइन्छ ।  यसले पाठकलाई परदेशी जीवनको यथार्थसँग जोड्ने काम गरेको छ । 
भाषा र शैलीका दृष्टिले पनि यक्सोको लेखन उल्लेखनीय छ । उनी सरल, स्वभाविक र संवादप्रधान भाषा प्रयोग गर्छन् । यसले कथालाई सहज र पठनीय बनाउँछ साथै कथामा प्रयोग गरिएका सांस्कृतिक सन्दर्भ, स्थानीय शब्दावली र अनुभवहरुले कथालाई जीवन्त बनाएका छन् । विशेषगरी लिम्बू समुदायसँग सम्बन्धित कथामा उनले सांस्कृतिक अध्ययन र भाषिक प्रयोगमा देखाएको मिहिनेतले उनको लेखनप्रतिको गम्भीरता उजागार गरेको छ ।

कथाकार यक्सोको जीवन र साहित्यिक यात्रातर्फ हेर्दा, उनको यात्रा प्रेरणादायी देखिन्छ । स्कुले जीवनमा उनी ‘लास्ट बेन्चर’ समूहमा पर्ने, पढाइभन्दा बाहिरी गतिविधिमा बढी रूचि राख्ने विद्यार्थी थिए । साहित्यप्रति प्रारम्भिक रूचि खासै नभए पनि समयसँगै उनको दृष्टिकोण परिवर्तन हुँदै गयो । कवि शशी लुमुम्बुसँगको भेटले उनको जीवनमा मोड ल्यायो । यही भेटपछि उनले लेखनतर्फ गम्भीर रुपमा लाग्ने प्रेरणा पाएको हङ्कङको एउटा कफी सपमा साथीहरुलाई सुनाउँदै थिए ।

उनको लेखन यात्रा सहज भने थिएन । प्रारम्भिक चरणमा केही कथाहरु पत्रिकामा प्रकाशित भए पनि उनले लामो समयसम्म निरन्तरता दिन सकेनन् । जीवनयापनका चुनौती, आर्थिक समस्या र भविष्यप्रतिको चिन्ताले उनलाई विदेशिन बाध्य बनायो । विदेश पुगेपछि उनको लेखन फेसबुकजस्ता सामाजिक सञ्जालमा सीमित थियो । तर साहित्यप्रतिको लगाव भने कहिल्यै मरेन । पुनः एकपटक पत्रकार आनन्द पी राईको प्रेरणाले उनलाई लेखनतर्फ फर्कायो । यसपछि उनले निरन्तर रुपमा लेख्न थाले र अन्ततः ‘पेनिबा’ जस्तो कृति जन्मियो । केही न केही गर्नुपर्छ भन्ने मनमा लागेर हङ्कङजस्तो व्यक्त सहरमा बेफुर्सदिलो हुँदाहुँदै पनि केही समय उबारेर साहित्य लेखन र युट्युब च्यानल चलाउँदै आएका छन् ।

उनको अनुभवले देखाउँछ कि लेखन केवल सिर्जनात्मक कर्म मात्र होइन, सङ्घर्षपूर्ण यात्रा पनि हो । लेखक भएर बाँच्नु सजिलो छैन भन्ने यथार्थ उनले स्पष्टरुपमा स्वीकार गरेका छन् । आर्थिक अस्थिरता, सामाजिक मान्यता र पारिवारिक जिम्मेवारीबीच सन्तुलन मिलाउँदै लेखनलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुन्छ । तर यक्सोले यी सबै चुनौतीबीच पनि आफ्नो लेखन यात्रालाई जारी राखेका छन् । उनको प्रतिबद्धता र लगनशीलताको प्रमाण यही पेनिबा हो ।

‘पेनिबा’ कथा सङ्ग्रहमा केवल कथाहरु मात्र छैनन्; यसमा लेखकको जीवन अनुभव, समाजप्रतिको दृष्टिकोण र सांस्कृतिक चेतना समाहित छ । यहाँका कथाहरु यथार्थ जीवनबाट निस्किएका छन् । जसले पाठकलाई आफ्नै जीवनसँग सम्बन्धित अनुभूति गराउँछन् । लेखक स्वयम्ले पनि पाठकसँग संवाद गर्ने शैली अपनाएका छन् । पढेपछि सुझाव र आलोचना स्वीकार्न तयार रहेको अभिव्यक्तिले उनको खुलापन र आत्मविश्वास देखाउँछ ।

समग्रमा, ‘पेनिबा’ नेपाली कथा साहित्यमा नयाँ सम्भावना बोकेको कृति हो । यसले पाठकलाई केवल मनोरञ्जन मात्र प्रदान गर्दैन, बरु सोच्न, बुझ्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्छ । सुरेश यक्सो एक उदाउँदो कथाकारका रुपमा स्थापित हुँदैछन् । जसको लेखनमा गहिराइ, संवेदनशीलता र यथार्थप्रतिको प्रतिबद्धता छ ।  भविष्यमा उनीबाट अझ सशक्त र परिपक्व कृतिहरु आउने अपेक्षा गर्न सकिन्छ ।