विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
बिहीबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा लागू औषध बरामद गरेको हो । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–३ का ३४ वर्षीय जीवन कार्की, ४४ वर्षीय अनिल राजधामी, इटहरी–७ का २२ वर्षीय राजेश चौधरी र २६ वर्षीय नविन चौधरी रहेका छन् । प्रहरीका अनुसार जीवन कार्कीको साथबाट ०.८८ ग्राम, अनिल राजधामीको साथबाट ०.७८ ग्राम र राजेश चौधरीको साथबाट ०.५३ ग्राम गरी जम्मा २.१९ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।