धरान । विशेषज्ञ चिकित्सकहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्तै महŒवपूर्ण हुने बताएका छन् । हार्मोन असन्तुलनकै कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै गएको उल्लेख गर्दै नेपालमा करिब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मधुमेहबाट प्रभावित रहेको तथ्य एक कार्यक्रममा प्रस्तुत गरिएको छ । 

विश्व हार्मोन डे को अवसरमा डाइबिटिज च्याप्टर नेपालले इटहरीमा शनिबार आयोजना गरेको वल्र्ड हार्मोन डे मास्टर क्लासमा सहभागी विशेषज्ञ चिकित्सकहरूले यस्तो तथ्य प्रस्तुत गरेका हुन् । 

२५ वर्षमाथिका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निन्द्रा र तौल नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिइयो । एक दिने कार्यशालामा कोशी प्रदेशभरिका करिब ३ सयभन्दा बढी डाक्टर तथा नर्सहरूलाई एउटै मञ्चमा ल्याइएको थियो ।

कार्यक्रमको उद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख तथा हार्मोन विशेषज्ञ डा. रविन मास्केले गरेका थिए । कार्यक्रम दुई प्रमुख शैक्षिक सत्रमा विभाजित गरिएको थियो । पहिलो सत्रमा ब्याचलर तहका विद्यार्थीहरूका लागि इन्डोक्राइनोलोजीसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो, जसको क्विज मास्टरका रूपमा डा. मास्केले सहजीकरण गरेका थिए । दोस्रो सत्रमा एमबीबीएस तहका चिकित्सकहरूबीच प्रतिस्पर्धात्मक क्विज आयोजना गरिएको थियो भने बीपी प्रतिष्ठानकै एसोसिएट प्रोफेसर डा. अविनाश राईले सञ्चालन गरेका थिए । 

प्रतियोगितामा विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । एमबीबीएस तहमा नोवेल मेडिकल कलेज प्रथम भएको थियो । ब्याचलर तहमा बीपी प्रतिष्ठान प्रथम भई नगद २० हजार पुरस्कार पाएको थियो । कार्यक्रममा प्रा.डा. रविन मास्के र डा. ओमप्रकाश साहले डायबिटिज तथा हार्मोनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा विशेषगरी इन्सुलिनको सही प्रयोग, मात्रा निर्धारण र बिरामीलाई प्रभावकारी परामर्श दिने तरिकाबारे विस्तृत जानकारी दिइएको थियो । ग्रामीण क्षेत्रमा इन्सुलिन प्रयोगसम्बन्धी जानकारी अभाव रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूले जनचेतना अभिवृद्धिमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

विशेषज्ञहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् । हार्मोन असन्तुलनकै कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै गएको उल्लेख गर्दै नेपालमा करिब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मधुमेहबाट प्रभावित रहेको तथ्य प्रस्तुत गरिएको थियो । २५ वर्षमाथिका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निन्द्रा र तौल नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिइयो ।