विजयपुर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले ८.५७ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–३ का २४ वर्षीय प्रताप राई, मोरङको कटहरी गाउँपालिका–४ का २२ वर्षीय विवेक कुमार मण्डल तथा उदयपुर त्रियुगा नगरपालिका–१२ का २४ वर्षीय मोहमद इस्माइल रहेका छन् । प्रहरीका अनुसार प्रताप राईको साथबाट ६.४४ ग्राम, विवेक कुमार मण्डलको साथबाट ०.३९ ग्राम र मोहमद इस्माइलको साथबाट १.७४ ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।