विजयपुर । सुनसरीको धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा दुई दिने विज्ञान प्रविधि सम्मेलन हुने भएको छ ।
बुधबार क्याम्पसले पत्रकार सम्मेलन गरी वैशाख १८ र १९ गते हुने दोस्रो सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा विज्ञान, प्रविधि, खाद्य, पोषण, वातावरण, जैविक विविधता र भूगर्भीय अध्ययनसम्बन्धी ३४ वटा कार्यपत्र तथा शोध प्रस्तुत गरिने छ । सम्मेलनका संयोजक तथा सहायक क्याम्पस प्रमुख डा. बन्टी मास्केले सम्मेलनले केवल शैक्षिक कार्यक्रम मात्र नभई अनुसन्धानकर्ताबीच ज्ञान आदानप्रदानको साझा मञ्च तयार गर्ने बताए । सम्मेलनमा ३ वटा की–नोट प्रस्तुति रहनेछन् । पहिलो दिन डा. माधवप्रसाद घिमिरेले त्रिभुवन विश्वविद्यालय सुपरकम्प्युटरको प्रयोगमार्फत डाटा विज्ञान र मटेरियल्स मोडेलिङमा उच्च कार्यसम्पादन कम्प्युटिङबारे प्रस्तुति दिनेछन् । त्यस्तै, डा. देवराज आचार्यले खाद्य विज्ञान, पोषण अनुसन्धान र नेपालका चुनौती तथा सुधार रणनीतिबारे प्रस्तुत गर्नेछन् । दोस्रो दिनको डा. गणेश तामाङले धरानमा बढ्दो मानव–बाँदर द्वन्द्व तथा सहरी वन्यजन्तु व्यवस्थापनबारे प्रस्तुत गर्नेछन् । सम्मेलन ६ वटा सेसनमा सञ्चालन हुनेछ, जहाँ विकिरण मापन, सौर्य अनुसन्धान, वेब प्रविधि, खाद्य संरक्षण, फर्मेन्टेसन, बहुऔषधि प्रतिरोधी जीवाणु, जैविक विविधता, भूमिगत पानीको गुणस्तर, डढेलो प्रभावित क्षेत्र तथा हिमालय भूगर्भीय संरचनासम्मका विषयमा शोधपत्र प्रस्तुत हुनेछन् । आयोजकका अनुसार सम्मेलनले प्रदेश १ तथा पूर्वी नेपालमा विज्ञान र प्रविधिसम्बन्धी अनुसन्धान संस्कृति विकास गर्न सहयोग पु¥याउने प्रचार संयोजक धिरेन लिम्बूले जानकारी दिए ।