विराटनगर । झापाको गौरीगञ्ज–६ की २२ वर्षीया सर्मिला सोरेन गर्भवती भएपछि नियमित स्वास्थ्य जाँचका लागि स्थानीय गौरीगञ्ज आधारभूत अस्पताल धाउन थालेकी थिइन् । वैशाख २५ गते पनि उनी सधैँ झैँ परीक्षणका लागि अस्पताल पुगिन् । चिकित्सकले उनको स्वास्थ्य अवस्था हेरेपछि ‘सीबीसी’ र ‘आरबीसी’ परीक्षण गर्न सिफारिस गरे । तर, जब उनी प्रयोगशाला (ल्याव) पुगिन्, त्यहाँ सेवा ठप्प भएको जानकारी पाइन् ।
“आफ्नै पालिकाको सरकारी अस्पतालमा सेवा पाइन्छ भनेर आएँ, तर यहाँ त दुई हप्तादेखि ल्याव नै बन्द रहेछ” सर्मिलाले गुनासो पोखिन्, “अब निजी क्लिनिकमा महँगो शुल्क तिरेर जाँच गराउनुको विकल्प रहेन ।”
सर्मिलाको जस्तै पीडा छ, ३७ वर्षीया सङ्गीताकुमारी ताजपुरियाको पनि । छोरा बिरामी भएपछि उपचारका लागि उनी हस्याङ्फस्याङ गर्दै नगर अस्पताल पुगेकी थिइन् । चिकित्सकले छोराको अवस्था बुझेर रोग पत्ता लगाउन ल्याव परीक्षण लेखिदिए । तर, अस्पतालको प्रयोगशालामा ताला झुण्डिएको देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
“छोरो बिरामी भएपछि अस्पताल ल्याएकी थिएँ, डाक्टरले जाँच त लेखिदिनुभयो तर ल्याव बन्द रहेछ” सङ्गीताले भनिन्, “अस्पतालले उपकरणमा हाल्ने केमिकल नकिन्दा दुई हप्तादेखि सेवा ठप्प रहेछ । स्वास्थ्य बिमा छ, सरकारीमा सस्तो होला भनेर आएको तर यहाँ सेवा नपाएपछि अब निजीमा गएर महँगो उपचार गराउन बाध्य भयौँ । हाम्रो स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सरकार कसैले पनि चासो दिएनन् ।”
गौरीगञ्जकै विवेककुमार साह पनि २५ वैशाखमा आफ्नी बिरामी आमा लिएर अस्पताल पुगेका थिए । चिकित्सकले रगत जाँच गर्न त लेखिदिए, तर अस्पतालको ल्यावमा ‘रिएजेन्ट’ (केमिकल) नभएका कारण उनी रित्तो हात फर्किए । “स्वास्थ्यजस्तो संवेदनशील कुरामा दुई सातासम्म सेवा बन्द हुनु भनेको गरिब जनतामाथिको खेलवाड हो”–उनले आक्रोश पोखे ।
प्रधानमन्त्रीकै क्षेत्रमा ‘हरिबिजोक’
गौरीगञ्ज अस्पतालको यो तस्बिरले मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को निर्वाचन क्षेत्रकै स्वास्थ्य अवस्थालाई गिज्याइरहेको छ । १५ शय्याको यो अस्पताल प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा पर्छ, जहाँका जनताले ‘विकास र समृद्धि’ को सपना देखेर मत दिएका थिए ।
स्थानीय मदन राजवंशी अस्पतालको यो हालत देखेर निकै आक्रोशित छन् । “दुई सातादेखि अस्पतालको प्रयोगशाला ठप्प छ, यो क्षेत्र प्रधानमन्त्रीको हो” मदन भन्छन्, “यही क्षेत्रका बासिन्दाले अत्यधिक मत दिएर देशको प्रधानमन्त्री बनाए, तर अहिले आफ्नै अस्पतालको हालत हरिबिजोक हुँदा पनि सरकारको ध्यान पुग्न सकेको छैन । दुई सातादेखि एउटा केमिकल खरिद गर्न नसक्ने सरकारले जनतालाई के सेवा देला ?”
अस्पतालमा दैनिक ३ सयदेखि ५ सयसम्म बिरामी ओपीडीमा आउँछन् । तीमध्ये आधाभन्दा बढीलाई ल्याव परीक्षणको आवश्यकता पर्छ । तर, ल्यावमा प्रयोग हुने केमिकल सकिएको दुई साता बितिसक्दा पनि खरिद प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन ।
प्रशासनिक कमजोरीको मारमा बिरामी
अस्पतालका मेसु डा. विश्वासविक्रम खरेलका अनुसार रिएजेन्ट सकिन लागेको एक महिना भइसक्यो भने ल्याव सेवा पूर्णरूपमा ठप्प भएको दुई साता पुगिसक्यो । “हामीले आर्थिक वर्षको सुरुमै आवश्यक औषधि र रिएजेन्टको विवरण पालिकालाई बुझाएका थियौँ” डा. खरेल भन्छन्, “तर, खरिद प्रक्रियामा ढिलाइ हुँदा अहिले बिरामीलाई निजीमा जानुपर्ने बाध्यता छ । ल्याव टेस्टविना बिरामीको अनुहार हेरेर मात्र औषधि दिन सकिँदैन ।”
अस्पतालको यो अवस्था हुनुमा स्थानीय सरकारको प्रशासनिक कमजोरी मुख्य कारण देखिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाका अनुसार गत माघ १३ गते नै रिएजेन्ट खरिदका लागि टेन्डर आह्वान गरिएको थियो । तर, कानूनअनुसार ३० दिनको सूचना निकाल्नुपर्नेमा भूलवश १५ दिनको मात्र निकालिएकाले उक्त प्रक्रिया रद्द गर्नुप¥यो ।
पुनः वैशाख १७ गते मात्रै ३० दिने नयाँ टेन्डर आह्वान गरिएको छ । यो प्रक्रिया पूरा भएर अस्पतालमा सामग्री आइपुग्न आगामी जेठ १८ गतेसम्म कुर्नुपर्ने देखिन्छ । पालिकाले चालु आर्थिक वर्षमा औषधि र रिएजेन्टका लागि २ करोड बजेट विनियोजन गरे पनि समयमा खरिद हुन नसक्दा बिरामी मर्कामा परेका हुन् । थापाका अनुसार अहिले १० देखि २० लाखको रिएजेन्ट ‘फास्ट ट्रयाक’ बाट ल्याउने प्रक्रियामा रहेको छ ।
गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले अस्पतालको सेवा ठप्प हुनु ‘लाजमर्दो अवस्था’ भएको स्वीकार गरे । “प्रक्रिया मिचेर खरिद गर्न सकिएन, तर टेन्डर प्रक्रियामा त्रुटि हुँदा ढिलो भयो” उनले भने, “अहिले ६० लाख रुपैयाँ बराबरको केमिकल खरिदका लागि दोस्रो पटक टेन्डर खुलाइएको छ ।”
गाउँपालिका अध्यक्ष फुलबत्ती राजवंशी भने अबको केही दिनमै समस्या समाधान हुने दाबी गर्छिन् । “हामीले ठेक्का प्रक्रिया अघि बढाइसकेका छौँ, दुई–तीन दिनमै सामग्री खरिद गरेर सेवा सुचारु गर्छौं”–उनले भनिन् ।
सोमबार मात्रै अस्पतालको ओपीडीमा २ सय ७२ जना बिरामी आएका थिए । तीमध्ये अधिकांशले ल्याव सेवा नपाएर महँगो शुल्क तिर्दै निजी अस्पताल र क्लिनिक जानुप¥यो । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको यो अस्पतालमा सेवा नपाउँदा बिमा बुझाएका सर्वसाधारणले समेत दोहोरो आर्थिक भार खेप्नुपरिरहेको छ ।