football trophyगाईघाट / उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिका–९ स्थित बसाहामा सञ्चालन भइरहेको पाँचौँ नारदमुनि स्मृति गोल्डकप फुटबल खेलको आइतबार भएको फाइनल खेलमा युनाइटेड क्लब काठमाडौँले एपीएफ झापा विरुद्ध विजय हासिल गरेको छ ।

आइतबार भएको फाइनल खेलको दोस्रो हाफको १३ औँ मिनेटमा युनाइटेड क्लबका अफ्रिकन खेलाडी मार्टिन कोराडोले एपीएफ झापाविरुद्ध निर्णायक एक गोल गर्दै युनाइटेडलाई विजय गराएको नारद स्मृति गोल्डकप आयोजकका सदस्य शेखर राईले बताए। पहिलो हाफसम्म दुवै पक्षबीच अतिनै प्रतिस्पर्धात्मक खेल भएपछि दोस्रो हाफको तेह्रौँ मिनेटमा भने झापाविरुद्ध एक गोल गर्दै युनाइटेड क्लब काठमाडौँ विजयी भएको हो । प्रथम हुने युनाइटेड काठमाडौँले रु एक लाख २० हजार नगदसहित कप समेत हात पारेको छ । यस्तै, दोस्रो हुने एपीएफ झापाले नगद रु ६० हजारसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएका छन् । नारद स्मृति गोल्डकपको पुरस्कार राशि उदयपुरको नै सबैभन्दा ठूलो पुरस्कार भएको फुटबल खेलको पुरस्कार राशि रहेको पनि आयोजकले बताएका छन् । आठ टिमका खेलाडीले सहभागिता जनाएको उक्त गोल्डकप खेल असोज १६ गतेदेखि सुरु भएको थियो भने खेल नकआउटको आधारमा खेलाइएको आयोजकले बताए । विजयी खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय उपाध्यक्ष किशोर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँगे्रसका योद्धा तथा नेपालको प्रथम भूमिगत रेडियो सञ्चालनकर्ता समेत रहेका नारदमुनि थुलुङको स्मृतिमा प्रत्यक वर्ष यसका आयोजकले जिल्लामा यो खेलको आयोजना गर्दै आएका छन् । रासस