barahaविजयपुर/हरिबोधनी एकादशीदेखि पाँच दिनसम्म चल्ने कार्तिके मेला बिहीबारबाट वराहक्षेत्रमा शुरु भएको छ । हिन्दू धर्मका पवित्र चार धाममध्ये पर्ने वराहक्षेत्र धाममा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म स्नान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । वराहक्षेत्र मन्दिरका पुजारी किरण भण्डारीका अनुसार हरिशयनी एकादशीका दिन शयन गर्ने नारायण भगवान हरिबोधनी एकादशीका दिन जागा हुने र साथै कोकाहा–कौशिकी संगममा स्नान गरी गरुडमा बसेर वराहमा आइ एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा मूर्तिका रुपमा प्रतिष्ठित हुनुहुने विश्वास रहिआएको छ ।

यो मेला कुन समयदेखि शुरु भयो भनेर भन्न नसकिएता पनि किरातकालीन इतिहासको आधारमा दोस्रो किराती राजाहरुले यस क्षेत्रमा यस पर्वको दिन स्नान गर्न जाने तीर्थालुहरुले कुनै दुःख कष्ट बेहोर्नु नपरोस् भनी आप्mना सैनिकहरुलाई व्यवस्था गरी पठाएको र मेलालाई सुव्यवस्थित गर्दै लगेको बूढापाकाहरुले किम्वदन्तीका रुपमा वर्णन गरिन्छ ।पुराणहरु अनुसार कोकाहा–कौशिकी संगम स्नान र वराह भगवान्को दर्शन यी दुबै जीवात्मालाई सहजै मुक्ति दिलाउने साधन हुन् । पुजारी भण्डारीले भने, ‘संगमको जल वराह भगवान्लाई चढाउने भक्तहरुले कहिल्यै नरक हेर्न पर्दैन भनेर वराह पुराणमा उल्लेख छ ।’

स्कन्द पुराणअनुसार कोकाहा मुख (कोकाहा–कौशिकी संगम) क्षेत्र वराहक्षेत्रमा आएर दर्शन गर्दै कोकाहाको जल पितृहरुलाई अर्पण गर्नाले जस्तोसुकै अगतिमा परेका पितृहरुको निश्चित उद्दार हुनेछ भनेर स्कन्द पुराणले ठोकुवा गरेको भण्डारीले बताए । वराहक्षेत्रमा स्नान गर्न तथा पितृकार्य गर्र्न आउनेहरुको निकै ठूलो भीड लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।