धरान/बूढासुब्बा प्याराग्लाइडिङ प्रालि धरानले आज सोमबारदेखि धरानमा व्यावसायिक उडान भर्ने भएको छ । प्रालिले धरान–२४ चिण्डेडाँडाबाट उडान भर्न लागेको हो ।कम्पनीका अध्यक्ष लेखमणि जिमीका अनुसार उडानको तीन दिनसम्म विशेष प्याकेज रहने छ । जस अन्तर्गत त्यो समयमा उडान भर्नेहरुलाई प्याकेजस्वरुप ४९ सय ९९ रुपैयाँमा उडान गरिने छ ।
तीन दिनपछि ५५ सयसहित १३ प्रतिशत भ्याट लाग्ने अध्यक्ष जिमीले बताए । ‘यो खर्च उडान भर्न चाहने व्यक्तिको हकमा पिकअप र ड्रपसमेतको खर्च हो’, जिमीले पत्रकार सम्मेलनमा भने ।बूढासुब्बाले पाँच जनाले टेन्डम फ्लाइट उडान गर्नेगरी नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।
जसका लागि धरानका व्यावसायिक पाइलट देशवीर जिमी, मणिराज तामाङ र नरेश राईले उडान भर्नेछन् । पर्यटकीय दृष्टिकोणले समेत धरानलाई प्रवद्र्धन गर्ने उद्देश्यले बूढासुब्बाले धरानबाट व्यावसायिक उडान भर्न लागेको प्रालिका व्यवस्थापक रामप्रसाद राईले बताए । धरानमा प्याराग्लाइडिङको परीक्षण उडानसमेत बूढासुब्बाकै टिमले गरेको थियो ।
झण्डै दुई वर्षअघि धरान–२० स्थित छोटी मोरङबाट परीक्षण उडान गरिएको थियो । केही महिनाअघि धरानमै चौथो माउन्टेन प्याराग्लाइडिङ एक्युरिसी प्रतियोगितासमेत गराएको थियो । जसमा देशभरका प्याराग्लाइडरहरु सहभागी थिए ।