विराटनगर । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित हनुमान मन्दिर अगाडि मङ्गलबार अपरान्ह ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटना अपराह्न करिब ४ः५० बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा विराटनगर–१४ निवासी ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते अवस्थामा उनीहरूलाई कोशी अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए । घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि घटनास्थलमा ठूलो भीड जम्मा भएको थियो । आक्रोशित स्थानीयले ग्यास बुलेटमा तोडफोडसमेत गरेका छन् । प्रहरीले भीडलाई सम्झाई बुझाई गर्दै स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । 

यस्तै झापाको कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । प्रहरीका अनुसार प्रदेश १–०२–०४३ प. ९२४७ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही वडाका ७६ वर्षीय धान्यप्रसाद दुलालको निधन भएको हो । उनी घटनाबाट गम्भीर घाइते हुन पुगेका थिए । उनलाई कमल नगर अस्पतालमा समान्य उपचारपश्चात् बिर्तामोडस्थित बी एन्ड सीमा लगिएको उनको सोमबार निधन भएको हो । मोटरसाइकलले उनलाई वैशाख ३१ गते ठक्कर दिएको थियो । मोटरसाइकल चालक दमक नगरपालिका–४ का २४ वर्षीय प्रवीण ढुङ्गानालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । 

यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भीमास्थित सडकमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५–००२ प. २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको छ । दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ बेल्टार बजारका २८ वर्षीय मौसम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।