काठमाडौँ । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । 

यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष एक सय जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

यस्तै विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन् । 

“एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हौँ भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत् हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ”– एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । 

गतवर्ष पनि यस कार्यक्रमअन्तर्गत फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।