झापा । चउरमा बसेर मादक पदार्थ सेवन गरी लठ्ठ भएको अवस्थामा आपसी विवाद हुँदा एक महिलाको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित चउरमा मापसे गरी विवाद हुँदा ठेल्ने क्रममा सोही ठाउँकी काजल बस्नेत सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई ठेल्ने सोही नगरपालिका–५ का २४ वर्षीय किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवैजना मापसे गरी लठ्ठिएको अवस्थामा विवाद हुन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घटना सोमबार बेलुकातिर भएको हो । आरोपित गौतमले ठेल्ने क्रममा चउरको बीचमा रहेको सीमामा लगाइएको कङ्क्रिटको प्लममा ठोक्किन पुग्दा टाउकोमा चोट लागी काजल घाइते हुन पुगेकी थिइन् । घाइते बनेकी उनलाई स्थानीयले शङ्कर अस्पतालमा पठाएका थिए । तर उपचार हुन नसकेपछि थप उपचारको लागि बिर्तामोडस्थित बी एन्ड सीमा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि आरोपित गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।
मृतकको श्रीमान् यामबहादुर बस्नेत वैदेशिक रोजगारअन्तर्गत दुबईमा रहेको जनाइएको छ । मृतककी दिदी प्रतिमा भट्टराईले दिएको उजुरीका आधारमा गौतमलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको छ । विवाद के विषयमा भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गौतमलाई घटनास्थलबाटै पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको जनाइएको छ । उनलाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ ।