suधरान\पर्यटनलाई जोड्ने एउटा अङ्गको रुपमा रहेको ‘जङ्गल सफारी’ धरानमा शुरु हुने भएको छ । धरानमा सेछ ट्राभलिङले नयाँ प्याकेजको रुपमा जङ्गल सफारी लञ्च गर्न लागेको हो ।यसले धरानको पर्यटनमा थप मद्दत पुग्ने विश्वास सेछ ट्राभलिङको छ । धरानमा ‘होल डे प्याक’ जङ्गल सफारी हुने छ । हालसम्म २–३ घण्टाको जङ्गल सफारी अभ्यासमा आएको छ ।

धरानबाट शुरु भएको यो प्याकेज कोशीटप्पु वन्यजन्तु आरक्षसम्म पुगेर टुङ्गिने छ । सेछले यो साता जङ्गल सफारीलाई विधिवत् थालनी गर्न लागेको छ । ‘धरानमा आउने पर्यटकलाई जोड्न यो प्याकेज अघि सारेका हौँ ।’ सञ्चालक बासुदेव बराल भन्छन् ।पर्यटन व्यवसायमा पर्यटक तान्न केही न केही नयाँ हुनुपर्छ भन्ने सिद्धान्त छ । त्यही सिद्धान्तअनुसार नै सेछले यो साता प्रारम्भ गर्ने सफारी यात्रा धरानको हरियाली सामुदायिक वनबाट शुरु भएर भरौल हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षमा पुग्ने छ । आरक्षमा पर्यटकहरुलाई ‘हात्ती सफारी’ गराइने छ ।

हात्ती सफारीसँगै बोटिङ यो प्याकेजको अर्को विशेषता रहने सञ्चालक बरालले बताए । यससँगै चराहरुको अवलोकन पनि गर्न सकिने छ । कोशीटप्पुमा हिउँदको समयमा पहाडी क्षेत्र र विदेशका विभिन्न क्षेत्रबाट चराहरु आइपुग्ने गरेका छन् । यो प्याकेजमा होमस्टेको समेत व्यवस्था छ जहाँ खाना खाँदै केही क्षणको आरामपछि चारैतिर कोशीले ढाकेको आइल्याण्डमा बोटिङमार्पmत् पुगेर ‘सामुद्रिक बीच’ को मज्जा लिन सकिने छ । त्यहाँ चारैतिर कोशी नदी छ भने बीच भागमा टापु छ ।

टापुको वरिपरि बालुवाले भरिएको छ । पूर्वमा आउने पर्यटकहरुका लागि यो नयाँ स्वाद हुन सक्ने सञ्चालकको दावी छ । यो आइल्याण्ड भविष्यमा पर्यटकको मुख्य आकर्षण हुन सक्ने अनुमान सञ्चालकहरु लगाउँछन् । बिहान ७ बजे शुरु भएको यात्रा साँझ ५ बजेसम्म रहने उनले बताए । ‘कहीँ पनि यस्तो प्राक्टिस भएको छैन जङ्गल सफारीको हकमा’, उनले भने, ‘सबैतिर २–३ घण्टासम्म जङ्गल सफारी गराउने प्रचलन छ ।’त्यसका लागि सेछले सातजनासम्म अटाउन सक्ने सुविधाको सवारीसमेत तयार पारिसकेको छ ।

चारजनाभन्दा बढी पर्यटकहरु भएमा सफारी गराउन सकिने उनले बताए । पर्यटनको क्षेत्रमा विगत तीन वर्षयता विभिन्न प्याकेज सञ्चालन गरेको सेछको यो नयाँ प्याकेज हो । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरुले आनन्द लिन सक्ने छन् जसमा प्रतिव्यक्ति एक दिनको प्याकेजको शुल्क २५ सय रुपैयाँ राखिएको सेछकी प्रबन्ध निर्देशक एलिना मगरले बताइन् ।

‘पर्यटक आएन भनेर भन्छौँ तर उनीहरुलाई हामी के दिन्छौँ त ? हामीसँग केही छैन । त्यसैले यो प्याकेज ल्याएका हौँ ।’ उनले भनिन् ।जङ्गल सफारीका लागि उनी केही चुनौतिहरु पनि देख्छिन् । वनबाट अनुमति, यातायातबाट सवारी अनुमतिलगायतका समस्याहरु एकातिर हुँदाहुँदै पनि राम्रो कार्यका लागि अनुमति पाउनेमा आशावादी छन् सञ्चालकहरु ।

‘हरियाली सामुदायिक वनका पदाधिकारीहरुसँग एक–दुई चरण छलफल भइसकेका छन्’, सञ्चालक बरालले भने, ‘अनुमति दिने भइसकेका छन् । त्यसबापत हामीले सडकको मर्मतका लागि काम गरिसकेका छौँ ।’ सेछको पहिलो लक्ष्य विदेशी, त्यसमा पनि भारतीय पर्यटकहरु हुन् । ‘तर, आन्तरिक पर्यटकहरुलाई नदिने भन्ने चाहिँ होइन’, बरालले थपे, ‘आन्तरिक पर्यटकको लागि सदैव खुल्ला राखेका छौँ ।’ सेछले यसअघि धरानका नाइन प्वाइन्टहरुको पहिचान गर्दै पर्यटकहरुलाई आकर्षित गरेको थियो ।