Durga-Tiwari-Murder काठमाडौं / सरकारले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।  नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुन बमोजिम कारबाही गर्ने बताएका हुन् । युवा स‌‍घ नेपालले अाज देशभर  विराेध स्वरुप एक घण्टा चक्काजाम गरेकाे छ ।

तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद: एक पक्राउ

पुस, भैरहवा । नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको छ ।

घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताए ।

बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धान खुलेको छ । पाण्डेले भने, मोटरसाइकलको ‘चालक’ यती हतारमा देखिन्छ कि मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिन्छ ।’

‘मोटरसाइकल फेला परेको स्थानले अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिणी पश्चिमी क्षेत्र तर्फ भागेको देखिन्छ’ पाण्डेले भने, ‘हामीले घटनालाई गम्भिरताका साथ अनुसन्धान गरिरहेका छौँ, दोषीलाई छिट्टै पक्राउ गर्छौँ ।’

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।