विजयपुर/ मन्त्री तथा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकसहित प्राविधिकहरूको टोलीले धरान–१७ स्थित प्रस्तावित विमानस्थलको निरीक्षण गरेको छ ।
पर्यटनमन्त्री जीवनबहादुर शाही, प्राधिकरणका महाप्रबन्धक सञ्जीव गौतम, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, प्राधिकरणका प्रमुख इन्जिनियर धु्रव भुजूसहितको टोलीले बुधबार प्रस्तावित विमानस्थलको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा पर्यटन मन्त्री शाहीले धरानमा विमानस्थल बनाउन अब कुनै कानूनी जटिलता नरहेको भन्दै जतिसक्दो चाँडो जग्गाको विषय टुङ्ग्याउन आग्रह गरे । धरानमा विमानस्थल अति आवश्यक रहेको बताउँदै उनले भने, ‘मन्त्रालयका सहसचिव, प्राधिकरणका महाप्रबन्धक, इन्जिनियर र यहाँका प्रतिनिधिहरूलाई साक्षी राखेर भनेको छु, धरानमा विमानस्थल बन्छ ।’
प्राधिकरणका महाप्रबन्धक गौतमले प्राधिकरणलाई जग्गा उपलब्ध हुनासाथ निर्माण कार्य थाल्ने जानकारी दिए । ‘अहिले विमानस्थल बनाउने विषयको सम्पूर्ण प्रक्रिया अगाडि बढेको छ’, उनले भने, ‘प्राधिकरणलाई आवश्यक जग्गा उपलब्ध गराउनुहोस्, हामी निर्माण प्रक्रियाका लागि तयारी हुन्छौँ ।’ प्राधिकरणका प्रमुख इन्जिनियर भुजूले अहिले वातावरण मन्त्रालयमा फायल रोकिएको जनाउँदै धरानलेहरूले एकताबद्ध भएर मन्त्रालयलाई पनि झकझकाउने काम गर्न आग्रह गरे । ‘विमानस्थल निर्माणका लागि बजेटसमेत छुट्टिएर प्रक्रिया अगाडि बढेको छ’, उनले भने, ‘अब तपाईंहरूले पनि सिंहदरबारमा अलिअलि प्रेसर गर्ने हो भने कुनै समस्या छैन ।’
त्यस क्रममा सांसद् मीन विश्वकर्माले धेरै वर्षदेखि थाँती रहेको धरानमा विमानस्थल बनाउने काममा सबै राजनैतिक दल, धरानका नागरिक र नागरिक समाज एक भएकाले यसले गति लिएको बताए । निरीक्षणमा नेकपा (एमाले) का धरान नगर उपाध्यक्ष नारायण सुवेदी, माओवादी केन्द्रका धरान संयोजक चोत्लुङ, नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राई तथा पूर्वनगर सभापति किशोर राई, धरान उमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालालगायतको उपस्थिति रहेको थियो ।