काठमाडौँ/ काठमाडौँको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुनेभएको छ ।

कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा चैत १७ देखि २० गतेसम्म आयोजना हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने जनाएको छ ।
‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ मूलनाराका साथ सुरु हुन लागेको उक्त मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले चैत १७ गते गर्नुहुने कार्यक्रम छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने जानकारी दिए।
मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।
मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०७२–७३ सम्म पुग्दा ३९ जिल्लामा विस्तार भएको छ । करिब ६७८ पुष्प व्यवसाय व्यावसायिक रुपमा अगाडि बढेका छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्पखेतीबाट लाभान्वित भएका छन् ।
आव २०७२÷७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढीको यसको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एसोसिएसनले बताएको छ ।
सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयनमा ल्याएको अहिले चारवर्ष पुगेको छ । पुष्प प्रवद्र्धन नीति आएको वर्ष सरकारले फ्लोरिकल्चर एसोसिएसन नेपालमार्फत रु एक करोड रकम उपलव्ध गराएको थियो । त्यसपछि आगामी आव २०७२÷७३ का लागि छुट्याइएको रु दुई करोड ४५ लाख खर्च भइसकेको छ ।
नेपालले पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात गरेको झन्डै २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर हुन सकेको छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेबिया, इटालीलगायतका मुलुकबाट आयात भइरहेका छन् ।
एकपटक प्रयोग गरिसकेपछि पुनः पुष्पलाई उपयोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्युपर्यन्तसम्म पुष्पको आवश्यकता पर्छ । सबै जातजातिको फरकफरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत पुष्पको प्रयोग हुन्छ । तर, उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले पुष्पको आयात प्रतिस्थानपन तत्काल असम्भव रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
बजारमा पुष्पको माग बढेको छ तर आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दिनप्रतिदिन बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना रहेको बताइन्छ ।
रासस