सङ्खुवासभा / दशकपछि आइतबार साँझ सङ्खुवासभाको पाँचखपन गाउँपालिकामा सात सय ग्रामको असिना परेको छ । असिनाले घरमा छाएको जस्तापाता समेत प्वाल पारेको स्थानीय पेमाछिरी शेर्पाले बताए । एक दशकअघि पाँच सय ग्रामको असिना परेको थियो । त्यसपछि आइतबार साँझ सात सय ग्रामको असिना झरेको उनले बताए । असिनाले एक दर्जनभन्दा बढी चौपाया मरेको स्थानीय शेर्पाले बताए । आलु, मकै र गहुँमा पूरै काम नलाग्ने गरी क्षति पु¥याएको उनले जनाए । तेर्से, भालुखोप, ताल, स्वाचीलगायतका क्षेत्रमा असिना परेको उनले बताए । जिल्लाकै खाँदबारी, मकालु वरपरका क्षेत्रमा पनि असिना झरेको थियो । अप्रील १ देखि ३ सम्म पहाडी तथा हिमाली क्षेत्रमा असिना पर्न सक्ने अनुमान मौसम विज्ञान विभागले गरेको थियो । हिमाली मौसमविद् केबी मानन्धरले सन् २००१ मे ३ मा पर्साको थोरीमा एक किलोग्रामको असिना परेको बताए । असिनाले कुटेर एक मानिस र पाँच सय चौपाया मरेको र सयौँ घाइते भएको मानान्धरले बताए । असिनाले १५ भन्दा बढी गाउँका पाँच सय घरको जस्तामा प्वाल परेको उनले बताए । स्प्रीङ मनसुन भएकाले असिना आउने सक्ने मौसमविद्हरूको भनाइ छ । शुरुमा पानीको थोप्ला हुने र हावाले तलमाथि गर्दा हिउँका कण बन्ने तथा ठूलो भएपछि भार थाम्न नसकेर असिना भूइँमा झर्ने गरेको हिमाली मौसमविद् मानन्धरले बताए ।