इलाम/ इलामको ठूलो टुँडिखेलमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको छैटौं दिनको अन्तिम क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सिएमजी सङ्कटा क्लब काठमाडौंलाई १–० कोे गोल अन्तर पराजीत गर्दै जीत दर्ता गरेको छ । एपीएफका तर्पmबाट खेल शुरु भएको १७ औं मिनेटमा नवीन लामाले गोल गरेका थिए । जीत गर्दै सशस्त्र प्रहरी प्रतियोगिताको सेमीफाइनलमा उक्लेको छ । सङ्कटाले खेलको निर्धारित समयसम्म पनि गोल फर्काउन नसकेपछि हार बेहोर्न पुगेको हो । यसअघिको पाँच खेलमा सङ्कटा क्लब र एपीएफको भेटमा चार खेलमा सङ्कटाले एपीएफलाई पराजीत गर्दै आएकोमा इलाममा भने एपीएफले हारको बदला लिएको छ । पछिल्लो चार खेल बूढासुब्बा गोल्डकप, सिमरा गोल्डकप, तिलोत्तमा गोल्डकपको विजेता सिएमजी सङ्कटाले इलाममा भने गोल गर्न सकेन । खेलमा अमृत तामाङले गोललाई गलत दिशामा पास दिएका कारण नै एपीएफका नवीनले गोल लगाउने मौका पाएका थिए । सो गोल नै खेलको निर्णय गोल बन्न पुगेको हो । दुबै टीममा अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडीहरुको सहभागिता थियो । जसमा सङ्कटा क्लबका खेलाडीहरु राष्ट्रिय टीमका स्ट्राइकर बिमल घर्ती मगर, अनन्त तामाङ, अमृत तामाङ, विक्रम लामा, निराजन खड्का लगायत थिए भने एपीएफका राजेन्द्र रावल, नवीन लामा लगायत थिए । प्रतियोगिताको म्यान अफ दी म्याच सशस्त्र प्रहरीका नवीन लामाले नगद सात हजार हात पारे । खेलमा सङ्कटा क्लबका तर्पmबाट राष्ट्रिय टीमका खेलाडी आएकोमा एपीएफलाई खेलमा जीत गर्ने आश नरहेपनि प्रतियोगिता डिफेनसीप आवश्यक भएको र सोही तरिकाले खेल खेलेका कारणबाट मात्र जीत गर्न सफल भएको एपीएफका प्रशिक्षक कुमार थापाले बताए । सङ्कटाका खेलाडीहरुलाई गोल गर्ने मौका नदिएकाले मात्र खेल जित्न सफल भएको थापाले बताए । यस्तै सङ्कटाका प्रशिक्षक राजेश तुलाधरले खेलाडीको सानो गल्तीका कारण हार्नु परेको बताए । मैदानको अनुभव समेत नरहेको र विपक्षी टीमका खेलाडीले गोल गर्ने मौका कम दिएकाले हारेको बताए । प्रतियोगिताको चैत २२ गतेबाट सेमीफाइनलका समीकरण पूरा भएको छ । चैत २३ गते हुने पहिलो सेमीफाइनल खेल नेपाल आर्मीको त्रिभुवन क्लब र नेपाल प्रहरी क्लबबीच हुनेछ । नेपाल आर्मीले तेस्रो दिनको क्वार्टर फाइनलमा भारतको कञ्चनजंघा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा उक्लेको थियो भने प्रहरीले मनाङ–मस्र्याङ्दी क्लबलाई हराएर सेमिफाइनलमा उक्लेको हो । प्रतियोगिताको विजेता टीमलाई नगद चार लाख पुरस्कार रहेको छ भने उपविजेता टीमलाई अढाइ लाखसँगै ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई यमाहाको १५० सिसीको एफजेटआरआर मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल चैत २६ गते हुनेछ ।