धरान/श्रीमतीलाई कोशीमा गएर हामफालौं भनेका शिक्षक एक हप्तादेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से घर भएका जयबहादुर राई रहेका छन् ।राई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

एक हप्ताअघि छोराको विवाह सम्पन्न भएपछि घरबाट अचानक बेपत्ता भएका शिक्षक राईको जिल्ला प्रहरी कार्यालय, विद्यालय, परिवार र घरपरिवारले खोजीरहेका छन् ।

खोजी कार्य जारी रहेपनि राईलाई अहिलेसम्म फेला पार्न नसकेको जनता निमाविका शिक्षक केशव घिमिरेले बताए ।“पन्ध्र दिनअगाडि देखि नै शिक्षक राईले घरमा आफ्नी श्रीमतीलाई कोशीमा गएर हामफालेर दुवैजना मरौँ भनेर पटक–पटक भनेको” राईको पारिवारिक स्रोतलाई उद्धृत शिक्षक घिमिरेले बताए ।

घरबाट बेपत्ता भएको केही घन्टापछि राईको मोबाइल स्विच अफ भएका कारण राईको अवस्था थाहा पाउनसमेत मुस्किल रहेको विद्यालयका शिक्षकहरुले बताए ।

शिक्षक राईको खोजीका लागि सप्तकोसी किनार क्षेत्रदेखि लहान, विराटनगर, सुनसरीका सम्भावित आशङ्का लागेका स्थानमा खोजी भइरहेको तर फेला पार्न नसकिएको राईको पारिवारिक स्रोतले जनाएको छ । राई विगत २४ वर्षदेखि जनता निमावि असारीमा शिक्षक पेसामा कार्यरत रहँदै आएका थिए ।