
पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले विर्यलाई आवश्यक पर्ने तत्व उत्पादन गर्छ । ४० देखि ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ। यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । २० देखि २५ ग्रामसम्मको प्रोस्टेटलाई ‘ग्रेड वान’ भनिन्छ, जसलाई सामान्य मानिन्छ।
त्यस्तै, २५ देखि ५० ग्रामसम्मको लागि ‘ग्रेड टु’ ५० देखि ७५ ग्रामसम्मको ‘ग्रेड थ्रि’ र ७५ ग्रामभन्दा माथिकोलाई ‘ग्रेड फोर’ भनी विभाजन गरिएको हुन्छ । प्रोस्टेटका विभिन्न पाँच वटा टुक्रा (लोब) हुन्छन् । कुन लोब कसरी बढ्यो त्यही अनुसार कसरी असर गर्छ भन्नेकुरा पत्ता लगाउन क्लिनिकल जाँचहरु गर्नुपर्ने हुन्छ । प्रोस्टेट बढेपछि हुने समस्यालाई दुई तरिकाले हेर्न सकिन्छ।
१. इरिटेटिभ सिम्टम्सः इरिटेटिभ सिम्टम्समा छिटो–छिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने वा जलन हुने समस्या देखिन्छ ।
२. अब्स्ट्रक्टिभ सिम्टम्सः पिसाब नलीमा कुनै किसिमको अवरोध आउनुलाई अब्स्ट्रक्टिभ सिम्टम्स भनिन्छ। यसमा पिसाबको धारा मसिनो हुनु, पिसाबको गति कम हुनु र पिसाब फेरिसकेपछि पनि पूरै निख्रिएजस्तो नहुनु, राति धेरैचोटि पिसाब लाग्नु जस्ता समस्या देखिन्छन् । प्रोस्टेटको अवरोधका कारण ‘युरिनरी ट्रयाक इन्फेक्सन’ (युटिआइ) हुने गर्छ । त्यस्तै, यो समस्या जटिल बन्दै गएमा पिसाबमा रगत देखिनुका साथै किड्नीमा असर पुगी किड्नी फेल हुन सक्छ ।
४ वर्षपछिकै उमेरमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमका रोग, इन्डोक्राइन रोगहरु हुन सक्ने भएकाले प्रोस्टेटको समस्या झन् जटिल बन्दै जान्छ ।
प्रोस्टेट बढ्नुका मुख्य दुई कारण हुन्छन् ।
१. बिनाइन (क्यान्सर नभएको) : बिनाइन संक्रमणका कारण पनि प्रोस्टेट बढ्छ । पुरुषको शरीरमा हुने टेस्टोस्टेरोन हर्मोनमा आउने गडबडीका कारण प्रोस्टेट बढ्ने सम्भावना रहन्छ । यो उमेरसँगै बढेर आउने समस्या हो।
२. म्यालिग्न्यान्सी (क्यान्सर) : म्यालिग्न्यान्सी हुनुको पहिलो कारण त वंशाणुगत नै हो। त्यस्तै, रेडियोथेरापी गरिएको छ भने पनि यो समस्या आउन सक्छ । कहिलेकाहीँ प्रोस्टेटको क्यान्सर नभई अन्य कुनै क्यान्सरका कारण रेडियोथेरापी दिइएको छ भने पनि म्यालिग्न्यान्सी हुन सक्ने खतरा रहन्छ।
परीक्षण तथा उपचार विधि
विभिन्न परीक्षणबाट प्रोस्टेटको समस्याबारे थाह पाउन सकिन्छ । ल्याब टेस्ट गर्नुअघि एक प्रकारको क्लिनिकल जाँच गर्नुपर्ने हुन्छ । जसमा मलद्वारबाट औँला लगेर प्रोस्टेटको जाँच गरिन्छ । यसबाट पनि प्रोस्टेटको आकार थाहा पाउन सकिन्छ । अन्य परीक्षण विधि निम्नअनुसारका छन्।
१. युएसजी (अल्ट्रा सोनो ग्रामर) : यसबाट प्रोस्टेटको आकार र प्रोस्टेटको कुन टुक्रा कसरी बढेको छ भनेर हेरिन्छ। यसबाट अवरोध भएरनभएको र पिसाब फेरिसकेपछि कति पिसाब बाँकी छ भन्ने कुरा हेरिन्छ। कहीलेकाहीँ चार सयदेखि पाँच सय मिलिलिटरसम्म पिसाब जम्मा भएर आएका बिरामी पनि भेटिन्छन्। यस्तो अवस्थामा किड्नी फेल हुने सम्भावना बढी हुन्छ।
२. युरोफ्लोमेट्री : यसमा बिरामीलाई मेसिनमा पिसाब फेर्न लगाइन्छ र पिसाबको धार कस्तो छरु पिसाबको ‘फोर्स’ कस्तो छ भनेर हेरिन्छ। यसबाट पिसाबको गति थाहा पाइन्छ।
३. पिएसए (प्रोस्ट्याटिक सेन्सेटिभ एन्टिजिन) : प्रोस्टेटभित्र क्यान्सर भए-नभएको पत्ता लगाउन पिएसए जाँच गरिन्छ । तर, पिएसए बढ्दैमा क्यान्सर भएको छ भन्ने चाहिँ हुँदैन । यो प्रोस्टेट क्यान्सर पत्ता लगाउनका लागि गरिने सामान्य स्क्रिनिङ मात्र हो।
४. पिसाबको जाँचः पिसाबमा संक्रमण छरछैन भनेर पिसाबको ल्याब परीक्षण गरिन्छ । ‘युरिन कल्चर’ परीक्षण पनि गर्नुपर्ने हुन सक्छ। यसबाट पिसाबमा संक्रमण छरछैन भन्ने कुरा पत्ता लाग्छ।
५. किड्नी जाँचः किड्नी जाँचबाट चाहिँ प्रोस्टेटले किड्नीमा असर गरेको छरछैन भन्ने कुरा पत्ता लगाइन्छ।
यी सबै जाँच गरिसकेपछि यदि बिनाइन प्रोस्ट्रेट हो भने पहिला औषधि चलाइन्छ र त्यसले कुनै काम गरेन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । प्रोस्टेटको आकार अनुसार शल्यक्रियाको किसिम पनि फरक हुनेगर्छ ।
१.मोनोपोलार टियुआरपीः पिसाबनलीबाट औजारको सहयोगमा प्रोस्टेट ग्रन्थी खुर्किने विधिलाई मोनोपोलार भनिन्छ । यो करिब ५० वर्ष पुरानो विधि हो । यसमा मेसिनबाट दिइएको करेन्ट मानिसको शरीरबाट निस्कन्छ ।
२ . बाइपोलार टियुआरपीः यो विधि पनि मोनोपोलार जस्तै हो। तर यसमा चाहिँ मेसिनबाट मानिसको शरीरमा दिइएको करेन्ट मेसिनमै फर्किनेगर्छ । यो मोनोपोलार टियुआरपीको परिमार्जित विधि हो ।
३. ओपन सर्जरीः बिरामीको पेटको तल्लो भाग चिरेर प्रोस्टेट निकाल्ने विधिलाई ओपन सर्जरी विधि भनिन्छ ।
४. लेजरः यदि बिरामीको प्रोस्टेटको आकार ६० ग्रामभन्दा धेरै छ, बिरामीलाई मुटुमा समस्या छ र रगत पातलो गर्ने औषधि लिइरहेको छ भने ‘लेजर सर्जरी’ गर्नुपर्ने हुन्छ । यो पिसाबनलीबाट ‘रेज’ पठाएर गरिने सर्जरी हो। यो विधिको प्रयोग गर्दा शरीरबाट रगत निस्कँदैन।
प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरु सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन् । बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ।
प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायप्सी गरिन्छ । बायप्सीका लागि मलद्वारबाट सानो सुइमार्फत प्रोस्टेटको टुक्रा निकालिन्छ। त्यसबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायप्सी’ गर्नुपर्ने हुन्छ। त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ। सुरुवाती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ । तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए ‘रेडियोथेरापी’ र ‘केमो मोडुलेसन’ गरेरे बिरामीको प्रोस्टेटलाई स्थिर बनाइन्छ । प्रोस्टेट क्यान्सर अरु क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन । प्रोस्टेट क्यान्सर भएरनभएको थाहा पाउनका लागि समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ।
डा. भरतबहादुर भण्डारी, युरो सर्जन, नर्भिक अस्पताल