काठमाडौँ/ यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमध्ये नगर प्रमुख-गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख-उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा १० हजार ८४१, वडा सदस्य ९खुला० मा १८ हजार ३७१, महिला सदस्य पदमा नौ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

यस निर्वाचनमा उक्त तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दता भएको हो ।

त्यस्तै निर्वाचनमा महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको थियो ।

साथै कुल दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले जम्मा १० हजार ३९२ वडा सदस्य पदका लागि मनोनयन भएको हो ।

प्रदेश नम्बर– ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि छ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।