नयाँदिल्ली/भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आज एक मिनिट्रक दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु हुनाको साथै अन्य २८ जना घाइते भएका छन् ।
उक्त दुर्घटना उत्तर प्रदेश राज्यको इटा जिल्लामा अवस्थित सराय नीम क्षेत्रको एक नहरमा भएको थियो । उक्त मिनिट्रकमा सराय नीम क्षेत्रको स्थानीय एक बिबाह समारोहबाट फर्किएका अतिथिहरु यात्रा गरिरहेका भारतीय प्रहरी श्रोतले बताएको छ ।
यात्रुहरुले टनाटन भरिएको सो मिनिट्रक अत्यधिक तेज गतिमा कुदि रहेको र चालकले ब्रेक लगाउँदा सन्तुलन गुमी फनक्क घुम्दै सराय नीम क्षेत्रको स्थानीय एक नहरमा खसेर नराम्ररी पल्टिएको थियो ।
मिनिट्रक दुर्घटनाग्रस्त भएको थाहा पाउनासाथ प्रहरी तथा स्थानीय बासिन्दाहरु दौड्दै दुर्घटनास्थल पुगी उद्धार कार्यमा जुटेका थिए ।
घाइते भएका यात्रुमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेको छ । गम्भीर रुपले घाइते भएकाहरुमध्ये करिब बीसजनालाई आगराको एसएन अस्पताल भर्ना गरिएको र अन्यलाई नजिकको अस्पतालमा उपचार गराइँदै छ ।
चालककै लापरबाहीका कारण उक्त ठूलो दुर्घटना हुन पुगेको भारतीय प्रहरीले सञ्चार माध्यमलाई जनकारी दिएका छन् ।
सराय नीम क्षेत्र उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट पश्चिममा २६५ किलो मिटर टाढा पर्दछ । रासस÷सिन्ह्वा