धरान/‘हरिबहादुर’ पुस्तक प्रमोशनका लागि देशदौडाहामा रहेका हरिबंश आचार्यले लघु चलचित्रका हरिबहादुर बनेर धरानेलाई हसाएका छन् ।

फाइन प्रिन्टले मङ्गलबार धरानको भानुचौकमा कार्यक्रममा ‘हरिबहादुर’ पात्रले धराने दर्शकहरुलाई मनोरञ्जन दिए । स्टेज चढ्नु अघि नै हरिबहादुरको ध्वनीमा गुञ्जिएका उनले १५ मिनेटसम्म स्टेजमा हरिबहादुरको प्रस्तुती दिए ।
जसमा उनले देशका राजनेताहरुको नायालकीपनसँगै भारतसँग गरेको कोशी सम्झौतालगायतमा नेपाल चुकेको कुरालाई स्मरण गराए । हरिबहादुर पुस्तकमा हरिबहादुरको अन्त्यन्तै तीक्ष्ण दिमाग भए पनि गलत काममा मात्रै प्रयोग गरेको कुरालाई सञ्चालिका रेडियोप्रस्तोता सविना कार्कीले सुनाइन् ।
त्यो दिमागलाई सही अर्थमा प्रयोग गर्दा पात्र हरिबहादुर साँच्चै देशको लागि होनाहार हरिबहादुर बन्ने चर्चासमेत गरिएको छ । यसक्रममा हरिबहादुर पुस्तकमा भएको उनको प्रेमीको नामलाई लिएर ‘क्वीज’ गराइयो । जसमा धरानका प्रविण राईले जितेका थिए ।
कलाकार हरिवंश आचार्यले धरान आफूलाई मनपर्ने सहरको रुपमा रहेको बताए । यहाँ बलिदान फिल्मको छायांकनको क्रममा एक महिना रहँदा धरानको परिवेशलाई चिनेको बताए । कार्यक्रमलाई प्रस्तोता सुमन कार्कीले थप रौनकता थपेका थिए । उनले विल्सनबिक्रम राई, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी शर्मा ओली र बाबुराम भट्टराईको क्यारिकेचर गरे भने पत्रकार ऋषी धमलाको भूमिकासमेत निर्वाह गर्न भ्याएका थिए ।
धरानमा झण्डै ३ सय बढी पुस्तक बिक्री भएको थियो । आचार्यले यस अघि ‘चिना हराएको मान्छे’ पुस्तक ल्याएका थिए ।
[caption id="attachment_46920" align="alignnone" width="565"]

तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]