भद्रपुर/ निर्माणाधीन सडकको ‘बेस ग्राभेल’ भत्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको बताएका छन् ।
झापाको भद्रपुर नगरपालिका–१० स्थित बीपी टोलमा निर्माणाधीन धनुषमोड–घोडामारा जोड्ने सडकमा ‘कमसल सामग्री प्रयोग भएको’ ले भत्किन थालेको बताएका हुन् । सघन सहरी विकास आयोजना अन्तर्गत सडक निर्माण भइरहेको छ । बेस ग्राभेलिङ निर्माणाधीन अवस्थामै भत्किन थालेको स्थानीय अरविन्द अधिकारीले बताए । ‘कमसल निर्माण सामग्रीको प्रयोग भएको छ भन्ने हाम्रो ठहर हो’ उनले भने, ‘अहिले नै सडक भत्किन थाल्नुले के सङ्केत गरेको छ ?’ सामान्य पानी पर्दा समेत सडकमा पानी जम्ने गरेको छ ।
उनका अनुसार आयोजनाका प्राविधिकहरू सडक निर्माणको समयमा न्यून उपस्थिति हुँदै आएको फाइदा निर्माण कम्पनीले लिएको छ । उक्त सडकको काम श्रेष्ठ कन्स्ट्रक्सनले गरिरहेको छ । सघन सहरी विकासका प्राविधिक ठेकेदारमैत्री भएर कमिसन लिएको सम्म स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले पुनः काम गर्नुपर्ने माग उठाएका छन् । भद्रपुर नगर क्षेत्रमा पहिलो, दोस्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकांश सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्याक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माणको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।
निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्भर्ट धसिने र कालोपत्रे उप्किने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । राजवंशीका अनुसार सडक निर्माणस्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटी कन्ट्याक्टरका कामदारको भरमा विश्वस्त भएर निर्माणाधीन संरचना बनाइरहेको बताउँछन् ।
नियामकको भूमिकामा रहेको सघन सहरी विकास कार्यालय भद्रपुरका इञ्जिनियर अर्जुन कुशवाहले सघन सहरी विकास अन्तर्गत भइरहेका कामको गुणस्तर कमसल हुन नदिइएको दाबी गर्छन् । निर्माण सम्पन्न भएपछि कतै–कतै समस्या देखिए पुनः मर्मतसम्भार गरेर मात्र ठेकेदार कम्पनीबाट सरकारले बुझ्ने आयोजना कार्यालयको दाबी छ । निर्माणमा प्रयोग गरिएका सामग्री विभिन्न प्रयोगशालामा मापन गरेर मात्र प्रयोग गर्ने गरेको उनले बताए । यस आयोजनामा श्रेष्ठ कन्स्ट्रक्सन मकवानपुर–काठमाडौले ३० किमी, गजुरमुखी कन्स्ट्रक्सन इलामले २३ किमी, खनाल कन्स्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जेभी अरनिको हेविटस जलथलले ५ किमी सडक, नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजना अन्तर्गत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माणसहित सडक विस्तार भइरहेको छ । दुई अर्ब रुपैयाँमा ५ वर्षभित्र भद्रपुर नगरपालिकाभित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।
सडकविरुद्ध सङ्घर्ष समिति
चन्द्रगढी रजतजयन्ती गेटदेखि भैरव चौकसम्म भइरहेको सडक निर्माण कार्य सडक ऐन विपरीत भएको भन्दै स्थानीयले १३ सदस्यीय सङ्घर्ष समिति गठन गरेका छन् । रुद्र चूडालको संयोजकत्व तथा किशोर कोइराला, रमेश न्यौपाने, अमित राई, जगदीश जोशी, भीम पौडेल, हेम खरेल, मानबहादुर कार्की, नारायण दाहाल, देवेन्द्र थाम्सुहाङ, डुक्पा राई, समरकुमार राई, नारायण श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरेको हो ।
समितिले पहिलो चरणमा भद्रपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सडक विभागलाई ज्ञापन–पत्र बुझाउने र ज्ञापन–पत्रको अवधिलाई हेरेर अन्य निर्णय गर्ने जनाएको छ । मेची रङ्गशालामा शुक्रबार भेला भएका स्थानीयले एयरपोर्ट गेट र टर्मिनल भवनलाई उत्तरतर्फ सार्ने सन्दर्भको समेत विरोध गरेका छन् । निर्माण भइरहेको बाटो सडक ऐन २०३१ को मापदण्ड विपरीत भइरहेको देखिएकोले उक्त कार्यको भत्र्सना गर्दै सडक ऐन बमोजिम बन्नु पर्ने मागसमेत उनीहरूको छ ।