भद्रपुर । जङ्गली हात्तीको आक्रमणबाट झापाको जलथल जङ्गलमा एक महिलाको मृत्यु भएको छ ।

साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहालको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथीहरुसँग सोमबार दिउँसो कमलधाप राम पोखरी सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । घाईतेलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । 

वि.सं.२०६२ साल यता १२ वटा हात्ती विविध कारणले मरेका छन् भने ५ जना गैर नेपालीसहित ४४ जनाको ज्यान गएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । हात्तीले सयौँको घरगोठमा क्षति पुर्याएको छ भने करोडौँ रुपैयाँको नोक्सानी गरिसकेको छ ।