भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा निर्माण गरिएका ३७ वटा आवास उद्घाटन गरेका छन् । 

झापाको बिर्तामोड–८ मा निर्मित प्रदेश गौरव भिलेज (नमुना बस्ती) को प्रम ओलीले मङ्गलबार उद्घाटन गरेका हुन् । बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा आवास निर्माण गरिएको हो ।

हर्चना टुनटुनबारी नमुना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुसदेखि २०७७ मङ्सिर महिनाभित्र ३७ वटा आवास निर्माण गरेको निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिए । बिर्तामोड नगरपालिका–८ स्थित पुरानो बाटो र अरूको जग्गामा आश्रय लिएर बसेका ३७ परिवारका लागि शौचालयसहित बनेको प्रति घरमा चार लाख रुपैयाँ लागत लागेको जनाइएको छ ।

जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोगलाई सहारा नेपालले परिचालन गरेको थियो । विपन्नको आवास निर्माणका लागि भद्रपुर–८ का धनजुजु, राधादेवी र कमलादेवी श्रेष्ठले १ बिघा ३ का जमिन निःशुल्क प्रदान गरेका थिए ।

त्यस्तै प्रम ओलीले उर्लाबारी–९ स्थित रातेहोली क्षेत्रमा एकीकृत बस्ती विकासको शिलान्यास गरेका छन् । लोपन्मुख तथा भूमिविहीन सन्थाल समुदायको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाको समन्वयमा सहरी विकास मन्त्रालयले तयारी पार्ने बस्तीको शिलान्यास प्रम ओलीले गरेका हुन् । 

सहरी विकास मन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले सन्थालको वृत्ति विकासको लागि एकीकृत बस्ती कार्यक्रम ल्याएको बताए । प्रधानमन्त्रीसँग भेट्ने उर्लाबारी–९ का सय वर्षका वीरबहादुर पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मन्त्रालयले उक्त समुदायका लागि १ सय ३२ वटा अन्याधुनिक सुविधासम्पन्न घर करिब ३० करोडको लागतमा निर्माण गरी हस्तान्तरण गर्ने जनाएको छ । निर्माण क्षेत्रमा जमिनका विषयमा देखिएको  समस्यालाई सरोकारवालासँगको समन्वयमा समाधान गरी निर्माण कार्यलाई प्राथमिकता दिइने उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले बताए ।