विराटनगर/ जनप्रतिनिधको संरक्षणमा जथाभावी भइरहेको प्राकृतिक स्रोत दोहनले मोरङ केराबारी गाउँपालिका भित्रका खानेपानी र सिचाइको स्रोत सुक्न थालेको छ ।
गाउँपालिका भित्रका खोला र त्यसछेउका निजी जमिनमा जनप्रतिनिधहरुको संरक्षणमा क्रसर उद्योगहरुले मनपरी उत्खनन हुदा खानेपानी र सिचाइको स्रोत सुक्न थालेको हो ।
वातावरणीय प्रभाव मूल्यांकनको सीमा मिचेर ठेकेदारले चुरे क्षेत्रको खोला र त्यसछेउ जमिनमा जथाभावी गरेको उत्खननले खानेपानीको स्रोत सुक्न थालेका केराबारी गाउँपािलका ८ का जीतबहादुर बस्नेतले बताए । चापाकल (ट्युवल) को खानेपानीको स्रोत सुक्न थालेपछि केराबारीका स्थानीय बासिन्दा सकसमा परेका छन् ।
तराई क्षेत्रमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि यहाँका स्थानिय बोरिङ गरि ट्याङकीमा पानी जम्मा गर्न थालेका छन् । विगतमा केराबारीमा पानीको समस्या थिएन् । तर, पछिल्लो वर्षहरूमा चुरे क्षेत्रका खोलाहरूमा जथाबागि भएको उत्खननले पानीको स्रोत सुक्न थालेको उनको भनाई छ । ‘ ६/८ वर्ष अगाडी ५० देखि ६० फिटको गहिराइमा जडान गरिएको चापाकलहरुमा सहजै पानी आउने गर्दथ्यो तर, अहिले आउँदैन, केराबारी ८ आमजुगीका गोपाल खड्काले ब्लाष्टसँग भने, ‘अहिले १ सय २० देखि १ सय २५ फिटको गहिराईमा पनि पानी आउन मुस्किल गर्ने गरेको छ ।’
चापाकल सुक्नुको साथै विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उनले बताए । मोटरले पनि तान्न छोडेपछि अहिले बोरिङ गरिएको उनले बताए । ‘अहिले मोटरले पानी तान्न छोडेको छ । सबैले मोटर चलाईदिँदा पानी नै आउँदैन,’ उनले भने, ‘केराबारी क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धीत निकायले चासो देखाएको छैन् ।’
चुरे जंगलको फडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन जस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरुको भनाई छ । पानीको अत्याधिक माग रहेकोले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रुपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरु बताउँछन् । पानी संचित गर्न चुरे क्षेत्रमा रिजर्भवायहरु बनाउन सकिए खानेपानीको समस्या ठुलो हद सम्म समाधान गर्न सकिने उनीहरु बताउँछन् ।
अवैध उत्खननले चार वटा कुलो भत्कियो
क्रसर उद्योगी भिम पौडेलको महादेवा मिनिरल इन्डष्ट्रिज र शिवम क्रसरले मापदण्ड विपरीत केराबारी ८ खदम खोलाछेउको निजी जग्गामा गरेको उत्खननले पानीको सिचाइ हुने चार वटा कुलो भत्काइदिएको छ । खदम खोलाको बाँध बाँधेर सिचाइ गर्न बनाएको कुलो मापदण्ड विपरित उत्खनन गर्दा भत्किएको स्थानियको भनाई छ ।
खदम खोलाको बाँध बाँधेर ल्याएको चार वटा कुलो क्रसरले भत्काइदिएको स्थानिय बताउँछन् । सिसौली, सुकुना, जिमनारी, र निकासी कुलो अवैध उत्खननले भत्काइदिएको जीतबहादुर बस्नेतले बताए । ‘प्रतिबिगा ५ सय रुपैयाँ दरले उठाएर खोलाको बाँध बाधेर कुलो बनाएका थियौ,’ उनले भने, ‘खदम खोला र त्यस छेउमा भएको जथाभावि उत्खननले अहिले सबै कुलो भत्किएको छ । यहाँका किसान सिचाइ विहीन छन् ।’
केराबारी ८ आमजुगीका करिब पाँच सय घरपरिवारले खेती गर्न सिसौली पैनी नाम दिएर कुलो बनाएर दुई वर्ष अगाडी ल्याएका थिए । ‘जथाभावी मापदण्ड विपरीत उत्खनन गरेको कारणले अहिले खिचाई गर्ने कूलो भत्काइदिएको छ,’ केराबारी ८ का गोपाल खड्काले भने, ‘सिसौली पैनीमा आएको पानीले २ सय बिघा खेतीयोग्य जमिनमा खिचाइ हुने गरेको थियो ।’ अवैध खोला र त्यस छेउको क्षेत्रमा उत्खननले अहिले केराबारीका आमजुगीका स्थानिय सिचाइबिहीन हुनुपरेको उनले बताए । यहाँका किसानले वर्षभरीमा तीन वाली खेती गर्दै आएका छन् । यहाँका कृषकहरुले धान, मकै, तोरीलगायतका नगदे बालीहरू लगाउँदै आएका छन् ।
यता केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले मापदण्ड विपरीत हुने उत्खनन रोक लगाएर भत्कीएको सिचाइ पुननिर्माण हुने बताए । ‘क्रसर उद्योगले उत्खननको क्रममा भत्काएको कुलो बनाउने सहमति भएको छ,’ उनले भने, ‘किसानहरूको लागि गाउँपालिकाले पानी संचितको लागि योजना अगाडी सारेको छ ।’ ८ देखि १० बिगाको पल्ट बनाएर पानीको संचित गर्ने योजना ल्याएको उनले बताए । ड्याप बनाएर दिगो पानीको योजना पनि गाउँपालिकाले लिएर आएको उनको भनाइ छ । अहिले सर्बे भइरहेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।