निलम्बित सांसद मोहम्मद अफताव आलमलाई प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत रहेको  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । 

गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न पुगेका देउवाले आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत रहेको बताएका हुन् ।

इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा आलम कारागारमा छन् । 

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणको अभियोग लागेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य आलमलाई गत साल कात्तिक २९ गते रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा चलान गर्न आदेश दिएको थियो ।

उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा धाँधली गरी चुनाव जित्ने उद्देश्यले बम बनाउँदै गर्दा २७ चैत २०६४ मा भएको विस्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको थियो ।

घाइते भएका दुईजना नेपाली मोहम्मद ओसि अख्तर र पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित अन्य २० जना भारतीय नागरिकलाई आलमको निर्देशनमा इँटाभट्टामा जलाइएको अभियोग छ ।