धरान । चक्रबहादुर पालुङ्वा फाउन्डेसनले धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई सम्मान गरेको छ ।

मास्टर स्वर्गीय चक्रबहादुर पालुङ्वाको ८७ औं जन्मजयन्तीका अवसरमा मङ्गलबार आयोजीत छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा, चक्रबहादुरकी श्रीमति विष्णु पतङ्वा, फाउन्डेसनका अध्यक्ष डा.योगेन्द्र पालुङ्वाले पत्रकार सुब्बालाई नगद २० हजार १ सय ११, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा धरान ८ स्थित ल्याबोरेटरी माविका कक्षा ११का विद्यार्थी रोमन थापा मगरलाई नगद १३ हजार १ सय ११ रुपैयाँको छात्रवृत्ति प्रदान गरियो । उनलाई प्रा.डा.टंकप्रसाद न्यौपाने र प्रदेश १का पूर्व प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले छात्रवृत्ति प्रदान गरे । 

हरेक वर्ष जन्मजयन्तीका दिन केही काम गर्ने योजना अनुसार पुरस्कार र छात्रवृत्तिको कार्यक्रम सुरु गरिएको चक्रबहादुरका छोरा तथा फाउन्डेसनका सल्लाहकार केपी पालुङ्वाले बताए । 

कार्यक्रममा बोल्दै पूर्वमन्त्री सुब्बाले चक्रबहादुरले दिएको संस्कारकै कारण आज उनका सन्तानले समाजका लागि राम्रो काम गरिरहेको बताए । त्यस्तै पूर्व प्रदेश प्रमुख सुब्बाले चक्रबहादुर एक सफल छोरा र सफल पिता बन्न सकेको बताए । त्यसैगरी प्रा.डा.न्यौपानेले चक्रबहादुरमा जातीय सद्भावको चेतना रहेको पुस्तकमा उल्लेख रहेको चर्चा गरे । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक जीवन राईले पनि मास्टर चक्रबहादुरको योगदानको चर्चा गरे । फाउन्डेसनका अध्यक्ष तथा चक्रबहादुरका छोरा डा.योगेन्द्र पालुङ्वाले आफ्ना बुवाले समाजमा गरेका काम पछ्याउँदै उहाँको नाममा फाउन्डेसन खोलेर सामाजिक कार्य गरेको बताए ।