विराटनगर/  विराटनगर–राष्ट्रिय जनगणना २०७८ का लागि कार्यगर्न मोरङको बेलबारीमा दशवटा पालिका कार्यक्षेत्र रहेने गरि जिल्ला जनगणना कार्यालय मोरङ ‘ख’बेलबारी नगरपालिकामा स्थापना गरिएको छ । मोरङका अन्य पालिका हेर्नेगरि विराटनगरमा यस अघिबाट नै  ‘क’ कार्यालय स्थापना भइसकेको छ ।

आगामी जेठ २५ गतेबाट मुलुकभरि नै सुरु हुने जनगणनाका लागि ५ वटा पालिकामा स्थानिय जनगणनाको कार्यालय बैशाक १ गतेदेखी संचालनमा आउने जिल्ला जनगणना अधिकारी सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बेलबारीले सुन्दरहरैंचा, पथरीले कानेपोखरी, उर्लावारीले मिक्लाजुङ र लेटाङले केरावारी र ग्रामथानको स्थानिय जनगणना कार्यालयले बुढीगंगा हेर्नेछन ।  

जनगणनाका लागि आवश्यक पर्ने गणक तथा सुपरिवेक्षकको आवेदन सम्बन्धित कार्यालयले लिन थालेको छ । दुवै पद करार सेवाका हुन । चैत ११ गते सम्म कार्यालयमै गएर अथवा अनलाईन मार्फत पनि दुवै पदमा आवेदन दिन सकिनेछ ।

सुपरिवेक्षकको तालिम वैशाख १६ देखी २२ गते सम्म संचालन हुने छ । उक्त कार्यालयका लागि करिब १५० जना सुपरिवेक्षकको आवश्यकता रहेको छ । त्यसैगरि गणकको तालिम जेठ १७ देखी २२ गते सम्म हुनेछ । करिब ६ सय भन्दा बढी गणकहरुको आवश्यकता रहेको छ । गणकहरुले प्रत्येक घर घरमा गएर जेठ २५ गतेदेखी असार ८ गते सम्ममा प्रत्येक घर परिवारको विवरण संकलन गर्ने छन । 

असार ८ गते राष्ट्रिय जनगणना दिवशको दिन मुलुकभरिको गणना कार्य सकिने छ । विक्रम सम्वत १९६८ देखी चन्द्र शम्शेरको पालाबाट नेपालमा जनगणना सुरु भएको थियो । चन्द्र शम्शेरको पालामा नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ रहेको थियो । वि.सं.२००९ र २०११ मा गरिएको जनगणनालाई वैज्ञानिक जनगणना मानिदै आएको छ ।  

यस पटकको जनगणना संघियतामा मुलुक गएपछिको पहिलो र इतिहासमा १२ जनगणना भएको अधिकारी श्रेष्ठले बताए । केन्द्रिय तथ्यांक विभागका अनुसार १० बर्ष अघि अर्थात २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो ।  

यो पटक संघिय राजधानी काठमाडौंमा आधुनिक प्रविधि मार्फत जनगणनाको तथ्यांक संकलन गरिदैछ । यसमा गणकहरुले ट्याब्लेट प्रयोग गर्ने छन । मुलुकका अन्य स्थानमा भने पेपेरमै तथ्यांक भरिने छ । अघिल्लो पटकको गणनामा संकलित तथ्यांकहरुनै अपटेड हुनेछन भने नयाँ विवरणमा सबै किसिमको घरहरुको तथ्यांक लिइदैछ । दर्ता नभएका र कामदार पनि नराखिएका तर घरभित्र रहेका साना तथा घरेलु उद्योग र व्यावसायहरुको तथ्यांक पनि यो पटक लिइदैछ ।